• १५ वैशाख २०८१, शनिबार

जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला : अध्यक्ष ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओली । तस्बिर ः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको आधारभूत ठाउँ भएको बताउनुभएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एमालेको स्थानीय तहमा निर्वाचित नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको अभिमुखीकरण कार्यक्रममा उहाँले प्रशिक्षणले जनप्रतिनिधिलाई आगामी मार्गदर्शनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनमा खटेका कार्यकर्तादेखि मताधिकारलगायतका विषयमा राष्ट्रिय एवम् प्रादेशिक रुपमा बहस हुनुपर्ने भनाइ उहाँको छ ।  “चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला–पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।”


अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै स्थानीय तहको निर्वाचनको परिणाममा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो ।

 “मार्गदर्शन तयार गर्ने क्रममा, उपयुक्त बजेट विनियोजन गर्न, श्रोत र खर्च सँग सम्बन्धित लाभ गर्ने विश्वास छ । महासङ्ग्राममा नेकपा एमालेले जीवन, मरणको लडाइँ लडेको हो । अस्तित्व मेटाउन खोजेको ठाउँमा आज पनि देशको प्रमुख राजनीतिक पार्टी हौं ।”, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले बहुमत भएको, नेतृत्व मात्रै भएको वा दुवै नभएको स्थानीय तहमा फरक तरिकाले प्रभावकारिता देखिने गरी काम गर्नसक्नुपर्ने बताउनुभयो । “विजयी बनाउने जनतालाई अर्कोे पटक पनि विश्वास गर्ने गरी अभिभारा सुम्पिएको छ । तपाई उसको सेवक हुनाका लागि हो, स्वतन्त्र नागरिक जस्तो फुक्का होइन । अब बढी शालीन हुनुपर्दछ ।”

प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेललगायतले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ ।