• १० असार २०८२, मङ्गलबार

रूपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

blog

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष दिनेशकुमार यादव । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १० गते ।
रूपनी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोबाइलको प्रयोग निषेध गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममा कक्षाकोठामा शिक्षकहरूलाई मोबाइल प्रयोगमा निषेध र प्रयोग गर्ने शिक्षकलाई कारबाही गर्ने उल्लेख गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सोमबार सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कक्षाकोठामा शिक्षकहरूलाई मोबाइल प्रयोगमा निषेध गर्नुका साथै विद्यालयमा सुर्तिजन्य पदार्थ पनि पूर्णरुपमा निषेध गरिने बताउनुभयो ।   
उहाँले कृषि क्षेत्रको विकासका लागि मलखाद बिउ बिजनमा अनुदान, प्राङ्गारिक कृषि खेतीमा जोड, कृषकको वर्गीकरण गरी परिचयपत्र वितरण र दलितहरूका लागि घर मिटर निःशुल्क उपलब्ध गराइने घोषणा गर्नुभयो ।

पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्यहरूमा बेरोजगार रहेका श्रमिकलाई सहभागी गराउनुका साथै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरूको परिचालन गरी रोजगारको अवसर सृजना गरिने अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

ज्येष्ठ नागरिक, अशक्त, असहायहरुका लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गरि प्लास्टिक जन्य र वातावरण प्रदूषित बनाउने दैनिक प्रयोगका सामग्रीलाई निरुत्साहित गर्दै आगामी आर्थिक वर्ष भित्र सुरक्षित नागरिक आवास नीति अनुरूप परालको घर न्यूनीकरणमा जोड दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले अगामी आर्थिक वर्ष २०८२/०८३ का लगि ४८ करोड ५५ लाख ४३ हजार चार सय ३१ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।

सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण नौ करोड ४२ लाख, राजस्व बाँडफाँट नौ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान दुई करोड १५ लाख र विशेष अनुदान एक करोड रुपियाँ बजेटमा उल्लेख छ ।

यस्तै, मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदानअन्तर्गत समानीकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक स्राेतबाट ६० लाख रुपियाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो ।