बबई समाचारदाता
बबई (बर्दिया), असार ६ गते । बर्दियाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल बन्न थालेपछि यहाँका बासिन्दा खुसी भएका छन् । यसअघि पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा हुलाकी सडक र गुलरिया आउन पनि ज्यान जोखिममा राखेर डुङ्गाको सहारा लिनु पर्थ्याे ।
धेरै पटक पुल निर्माणको माग उठेपछि सरकारले कुसुम्बाघाटमा २०७३ सालमा झोलुङ्गे पुल निर्माण गर्यो तर २०७४ सालमा बबई नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि पुनः त्यस स्थानमा झोलुङ्गे पुल नै निर्माण भयो ।
अहिले झोलुङ्गे पुलको किनारमा ३८४ मिटर लामो र ११ मिटर चौडाइ भएको पक्की पुल धमाधम निर्माण भइरहेको छ । त्यसै पुलबाट यातायात साधन सञ्चालन भए बारबर्दिया नगरपालिकाका स्थानीयको पुलमा हिँड्ने सपना पूरा हुने छ भने यातायातसमेत सहज हुने छ ।
बारबर्दिया नगरपालिका–४, पदनाहका स्थानीय फूलपाती चौधरीले भन्नुभयो, “नदीमा आएको बाढीमा असुरक्षित डुङ्गाको यात्रा गरेका घटना सम्झँदा अहिले पनि आङ सिरिङ्ङ हुन्छ । अहिले पक्की पुल निर्माण हुन थालेपछि त्यो अवस्थाबाट मुक्ति पाइने आशा पलाएको छ ।”
बारबर्दिया नगरपालिका कृषि क्षेत्रमा पनि अब्बल देखिन्छ । यहाँ उत्पादन हुने अन्न, तरकारी मधुवन गुलरिया बजार पुर्याउन पाए आम्दानी बढ्ने अपेक्षा कृषकको रहेको बारबर्दिया नगरपालिका–२ का रामलौटन थारूले बताउनुभयो ।
पुल निर्माणको काम धमाधम भइरहेको छ । पुल सेक्टर कार्यालय बाँकेले ४२ महिना समय राखेर २०७७ चैत १२ गते सम्झौता भएको पुलको आधाभन्दा बढी काम सकिएको छ । निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा कुनै कसर बाँकी नराखेर काम गरेको र पुल निर्माणपछि बारबर्दियाको एउटा सपना पूरा हुने विश्वास आफूले लिएको बारबर्दिया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सीताराम योगीले बताउनुभयो ।
४९ करोड ४८ लाख ५७ हजार नौ सय रुपियाँमा हिम डुङ एन्ड ठोकर कन्स्ट्रक्सनसँग पुल सेक्टर कार्यालय बाँकेले सम्झौता गरेर सुरु गरेको कुसुम्बाघाटको पुलको करिब ५५ प्रतिशत काम सम्पन्न भएको र काम निरन्तर भइरहेको पुल सेक्टर नेपालगन्जका इन्जिनियर लक्ष्मण केसीले बताउनुभयो ।
सङ्घीयता प्राप्तिपछि बर्दियाका विभिन्न स्थानमा एक दर्जन ठुला पुल निर्माण भएका छन् । भादा, सर्यु नदी, भानखोला, लठुवाघाट, गाईघाट, दौलपुर, सन्कट्टीघाटलगायतका स्थानमा पुल निर्माण सम्पन्न भएका छन् भने केही स्थानमा निर्माणको काम जारी रहेको छ ।