कालीकोट समाचारदाता
कालीकोट, असार ३ गते । दुर्गमका स्वास्थ्य संस्था सधैँ समस्यामा हुने गरेका छन् । कहिले जनशक्ति अभाव त कहिले उपकरणको अभावले स्वास्थ्य संस्था समस्यामा परेका हुन् । सुरक्षित र गुणस्तरीय प्रसूति सेवा दिने भन्दै सरकारले दुर्गममा स्थापना गरेका प्रसूति केन्द्र (बर्थिङ सेन्टर) ले जनशक्ति र उपकरण अभाव झेलिरहेका छन् ।
यहाँको पलाँता गाउँपालिकामा रहेका छ वटामध्ये तीन वटा ‘बर्थिङ सेन्टर’ मा वर्षमा मुस्किलले १५ देखि २० जना गर्भवती प्रसूतिका लागि आउने गरेका छन् । जीर्ण भवन, जनशक्ति र उपकरण अभावमा स्थापना भएकाले यहाँका ‘बर्थिङ सेन्टर’ नाम मात्रका बन्न पुगेका हुन् । सेवा राम्रो पाइँदैन भन्ने सूचना नागरिकले पाउने गरेकाले सेवा लिन जान नचाहने गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०६५ (तेस्रो संशोधन २०७३) अनुसार ‘बर्थिङ सेन्टर’ मा अक्सिजनसहित १०४ प्रकारका उपकरण सामग्री, २१ प्रकारका औषधी, दुई अनमीसहितको जनशक्ति हुनुपर्ने उल्लेख छ । ‘बर्थिङ सेन्टर’ पायक पर्ने ठाउँमा छैनन्, अर्कोतर्फ तोकेको सेवासुविधा पनि छैन । “पलाँताको भूगोल पनि त्यस्तै छ । स्थानीय सरकारले ध्यान दिएर पायक पर्ने ठाउँमा बनाउनुपर्ने हो तर पालिका नेतृत्वले स्वास्थ्यका कुरामा चासो लिएर सुन्दैन,” पलाँता स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज विनोद न्यौपाने गुनासो गर्नुभयो । सात वर्षअघि स्थापना भएको ‘बर्थिङ सेन्टर’ को अवस्था नाजुक रहेको उहाँको भनाइ छ ।
कालीकोट जिल्लाभर ४० वटा ‘बर्थिङ सेन्टर’ छन् । अहिले धेरै ‘बर्थिङ सेन्टर’ ले प्रभावकारी सेवा दिन सकेका छैनन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका ‘बर्थिङ सेन्टर’ फोकल पर्सन मिरा शाहीले कालीकोट जस्तो जिल्लामा अहिले पनि स्थानीय तहले चासो नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्थिङ सेन्टरको रेखदेख गर्ने जिम्मा स्थानीय तहको हो तर स्थानीय सरकारले लगानी गर्न सकिरहेको छैन । यसले गर्दा औजार, उपकरणलगायत अति आवश्यक पूर्वाधारको पनि अभाव छ ।”
यस्तै नरहरिनाथ गाउँपालिका–७, उच्छप आधारभूत स्वास्थ्य सेवा केन्द्रमा रहेको ‘बर्थिङ सेन्टर’ चार वर्षदेखि स्वीकृतिबिना नै सञ्चालनमा छ । ‘बर्थिङ सेन्टर’ ले पूर्वाधार र उपकरण अभाव झेलिरहेको अनमी कमला भट्टराईले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारीसमेत रहेका स्वास्थ्यकर्मी कटकबहादुर महतले नागरिकको ज्यान जोगाउनका लागि स्वास्थ्य संस्थामा उपकरण अति आवश्यक भएको जनाउनुभयो ।