• १ असार २०८२, आइतबार

यसै वर्ष भूमिगत तारबाट बिजुली

blog

पोखराको लेकसाइडमा बिजुलीका तार भूमिगत गरिँदै ।

 फडिन्द्र अधिकारी

लेखनाथ, असार १ गते । पर्यटन राजधानी पोखराको लेकसाइड बिजुलीको तारले निकै फितलो देखिन्छ । यद्यपि यो ठाउँ पोखरा आउने जोकोहीले नछुटाउने ठाउँ पनि हो । फेवाताल किनारको लेकसाइडबाट छर्लङ्ङ देखिने हिमशृङ्खला कतै घरले छेक्छन्, कतै बिजुलीका तारले छेक्दा यहाँ आउने पर्यटकले जति आनन्द लिनुपर्ने हो, त्यो लिन पाएनन् कि भन्ने चिन्ता पछिल्ला दिनमा हुने गरेको छ । अहिले ताल सीमाङ्कनका लागि पोल गाडिँदै छन्, सँगसँगै लेकसाइडलाई केन्द्रमा राखेर बिजुलीका तार भूमिगत पनि हुँदै छन् । 

नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत लेकसाइडलाई तारमुक्त बनाउन लागेको छ । प्राधिकरणले काठमाडौँका लाजिम्पाट र ठमेलपछि पोखरा र भरतपुरका केही क्षेत्रमा तार जमिनमुनि बिछ्याउँदै छ । अहिलेसम्म पोखरामा ६५ प्रतिशत र भरतपुरमा ७५ प्रतिशत जति काम भएको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदी पोखरा र भरतपुरमा आगामी वर्ष काम भइसक्ने बताउनुहुन्छ । 

अहिले पोखराको हल्लन चोकदेखि वाराही चोकसम्म पाइप बिछ्याउने काम भइरहेको छ । लेकसाइडमा सबै जसो भित्री सडकमा केबुल राखिसकिएको छ भने जिरोकिमीबाट बागलुङ जाने राजमार्गको मालेपाटनसम्म पनि पाइप राखिसकिएको छ । जरेबरदेखि हल्लन चोकसम्म आधा जति सडकमा काम भएको छ । राष्ट्र बैङ्क चोकदेखि बाराही चोकसम्म र सिर्जना चोकदेखि राष्ट्र बैङ्क चोकसम्म भने काम सुरु भएको छैन । 

पृथ्वी राजमार्गको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि अमरसिंह चोक हुँदै पृथ्वी चोकसम्म काम सकिएको छ । यहाँका साढे तीन सय घरमा भूमिगत तारबाट बिजुली बलिसकेको छ । चाँडै थप एक सय घरमा लाइन जोड्ने तयारी छ । पृथ्वी चोकबाट सिर्जना चोक हुँदै लेकसाइडसम्म काम भइरहेको छ तार भूमिगत भएपछि पोखराका छ हजार घरले यसबाट बत्ती बाल्न पाउने छन् । 

आयोजनाले भरतपुरमा भने भूमिगत तारबाट बिजुली जोडेको छैन । सुवेदीले भन्नुभयो, “भरतपुरमा भूमिगत तारबाट बिजुली पुगे पनि घरमा वितरण गरिएको छैन । चाँडै वितरण गर्ने योजना भइरहेको छ ।” एसियाली विकास बैङ्क (एडिबी) को दुई अर्ब ५० करोड ऋण सहयोगमा चलेको परियोजनाको ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ । विद्युत्सँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर बिच्छ्याइँदै छ । प्राधिकरणको कार्यविधि  नहुँदा टेलिफोन, केबल र इन्टरनेट भने भूमीगत प्रणालीबाट सुरु भएका छैनन् । यो आयोजनाको पोखरा खण्डको बजेट एक अर्ब ३० करोड रुपियाँ रहेको छ ।

पोलमा तार टाँगेर बिजुली वितरण गर्ने प्रणालीभन्दा यो निकै महँगो हुन्छ । पोखरा उपत्यकाभरिकै बिजुलीका तार भूमिगत गर्न पाँच अर्बभन्दा बढी खर्च हुने अनुमान छ । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् । प्राविधिक कारण र भौगोलिक अवस्थाले काममा केही ढिलाइ भए पनि अब चाँडै काम सकिने टाटा प्रोजेक्ट्सका लागि काम गरिरहेको गण्डकी ड्रिलिङ एन्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सरोज खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पोखराको भूगोलका कारण एचडिडी प्रविधिबाट काम गर्न सकिएन, म्यानुअल्ली गर्दा ढिलो भएको छ । यहाँको भौगर्भिक अवस्था फरक खालको छ ।”

अब असोज लागेपछि कामले गति लिने र यही आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख सुवेदीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामीले सडक विभाग, महानगर, खानेपानी संस्थान, स्थानीय सबैको साथ पाएका छौँ । असारदेखि भदौसम्म मुख्य काम गर्न मिल्दैन । असोज लागेपछि काम सुरु गरी चैतभित्र भ्याउछौँ ।”

२०७८ माघमा दुई वर्षभित्र काम सक्ने गरी यसको ठेक्का लागे पनि छ महिनापछि मात्र पोखरामा काम सुरु भएको थियो । निर्माण कम्पनीलाई दोस्रो पटक थपिएको म्याद सन् २०२५ जुलाई ३१ मा सकिँदै छ ।