• २३ असार २०८२, सोमबार

प्राध्यापक सुवेदी तथा लेखक बानियाँलाई सम्मान

blog

सम्मानित हुनुभएका व्यक्तित्वहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ३० गते ।
मूलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्रले प्राध्यापक डा. हेमराज सुवेदी, मदन पुरस्कार प्राप्त कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँ तथा दोहोरी गायक तथा साहित्यकार नरबहादुर बिसीलाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहनुभएका डा. सुवेदी एवम् लोकदोहोरी गायक तथा साहित्यकार बिसीलाई जनही २५ हजार एक सय २५ नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै, मदन पुरस्कार बिजेता महारानी उपन्यासका लेखक बानियाँलाई ३१ हजार एक सय ३१ नगदसहित सम्मान गरिएको हो ।

म्याग्दीमा जन्मेर विभिन्न क्षेत्रमा योगदान दिएका उहाँहरुलाई सम्मान गरिएको मूलघरे पौडेल परिवारका रामप्रसाद पौडेलले बताउनुभयो । उहाँले प्राडा सुवेदी राजनैतिक शास्त्रको द्वन्द्व र शान्ति विधामा प्राध्यापन गर्दै राज्यका लागि नै योगदान गर्ने भएकाले सम्मान गरिएको बताउनुभयो । सुवेदी हाल शाेधपत्रहरुमा सल्लाहकारको भूमिका निर्वाह गर्ने साथै पोखरा विश्वविद्यालयको पिएचडीतर्फका कोर्षहरुमा सहयोग गर्ने र त्रिभुवन विश्वविद्यालयमा पनि विविध पक्षमा संलग्न हुनुहुन्छ ।

सोही कार्यक्रममा सामाजिक व्यक्तित्व कमलकुमारी भट्टचन र दधिलाल पौडेललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा धवलागिरी माध्यमिक विद्यालय बेनी नगरपालिका ४ सिंगालाई स्टेशनरी सामग्री प्रदान गर्नुका साथै जनकल्याण माध्यमिक विद्यालय बेनी नगरपालिका ५ पुलाचौरलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।

पौडेल वंशावलीको सोमनाथ आत्रेयपछिका ५० औं पुस्ता तथा उदय भट्टपछिका ३८ औं पुस्ताका मानिने मुखिया जेमदग्नि पौडेलको जीवन दर्पण प्रकाशन गरी विमोचन गरिएको थियो ।

रामप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा देवीप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो भने जेमदग्नि पौडेलका पुत्र यादवप्रसाद पौडेलले अध्यक्षता गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यिक तथा सामाजिक कार्य गर्नका लागि मूलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्रले ११ लाख ११ हजार १११ रुपियाँको अक्षयकोषको घोषणा गरेको छ ।