• ३१ जेठ २०८२, शनिबार

मिनि ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

blog

दुर्घटना भएको मिनि ट्रक । तस्बिर राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, जेठ ३० गते ।
राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु नजिकै बिहीबार बेलुका भएको मिनी ट्रक दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार दुर्घटनामा परेर दाङ घोराही उपमहानगरपालीका १० निवासी ४५ वर्षीय चालक भुपेन्द्र महतको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा बिहीबार राति नै जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।

सोहि दुर्घटनामा परेर घाइते हुनुभएका दाङको घोराही उपमहानगरपालिका १० निवासी ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । उहाँलाई थप उपचारका लागि रातिनै नेपालगञ्ज रिफर गरिएको छ ।

दाङको घोराहीबाट पानीको जार र बोतल बोकेर आउँदै गरेको रा १ क १४१२ नम्बरको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना भएको थियो । रारा प्रोसेसिङ कम्पनी प्रालिद्वारा सञ्चालित मिनि ट्रक दाङबाट रुकुमपश्चिमको खलंगातर्फ आउँदै गरेको बेला दुर्घटना भएको हो ।

ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।