काठमाडौँ, जेठ २८ गते । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पठाएको ५ बुँदे प्रस्तावमाथि छलफल नहुने बताउनुभएको छ ।
बुधवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गर्नुभयो । उहाँले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बिहीबारको संसद् बैठक अपराह्न बोलाइएको बताउनु भयो । उहाँले माओवादी केन्द्रको दुई बुँदे प्रस्तावमा विपक्षी दलहरूले सहमति जनाउन कोसिस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपक्षीहरूसँग सहमति नभएको खण्डमा पनि अब संसद् लामो समय अवरुद्ध हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन । हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ । विपक्षी दलले भोली एक दिन फेरी छलफल गर्न समय माग गर्नुभएको छ । त्यस कारण संसद्को बैठक पनि अपराह्न ३ बजे राखिएको हो । माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला । त्यो भएन भने लामो समय संसद् अवरुद्ध हुन सक्दैन । संसद् अगाडी बढ्छ ।”
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा [माओवादी केन्द्र], रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सोही अनुसार बुधवारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध भयो । संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।