• २९ जेठ २०८२, बिहिबार

आमालाई पोषिलो पिठो

blog

सिद्धकुमाख गाउँपालिकामा ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत ६ सय ५९ जना हजार दिने आमालाई पोषिलो पिठो प्रदान । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ २८ गते । मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित सिद्धकुमाख गाउँपालिकाले ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत ६५९ जना हजार दिने आमाहरूलाई पोषिलो पिठो वितरण गरेको छ । कुपोषण न्यूनीकरणका लागि सञ्चालन गरिएको कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

गाउँपालिका अध्यक्ष भरत गिरीका अनुसार उक्त पिठो वितरण वडा नं. १ मा १७८ जना, वडा नं. २ मा १११ जना, वडा नं. ३ मा १२६ जना, वडा नं. ४ मा ८८ जना र वडा नं. ५ मा १५६ जना आमालाई गरिएको हो । “कुपोषणको समस्या दीर्घकालीन रूपमा समाधान गर्न यो कार्यक्रम थालिएको हो । सिद्धकुमाख गाउँपालिका  अध्यक्ष भरत गिरीले हजार दिने अवधिमा रहेका आमाहरूको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो पिठो वितरण गरिएको हो। 

कुपोषणको समस्या केवल खानेकुरा अभावका कारण नभई पोषणसम्बन्धी ज्ञानको कमीका कारण पनि देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले सन्तुलित आहारबारे जानकारी अभावका कारण पनि बालबालिका कुपोषणको सिकार भएका भएकाले  पिठो वितरणसँगै व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाले भन्नुभयो, "समुदाय स्तरमा सचेतनाका लागि  कार्यक्रम गर्दे आएका छौं ।"

गाउँपालिकाले वितरण गरेको पोषिलो पिठोमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन, जिंक र फोलिक एसिडजस्ता सूक्ष्म पोषकतत्व मिसाइएको छ । स्थानीयस्तरमै उत्पादन गरिएका अन्नबाली प्रयोग गरी तयार पारिएको उक्त पिठो गुणस्तरीय र सुलभ रहेको जनाइएको छ।

सिद्धकुमाख–१ की रेखा रानाले पिठो पाएपछि खुसी व्यक्त गर्नुभयो। उहाले भन्नुभयो गर्भवती महिलाका लागि यस्तो पोषणयुक्त सामग्री उपयोगी हुन्छ ।

काखखोलाकी ललिता रेउले  पोषिलो पिठोसँगै पोषणको बारेमा जानकारी पाएपछि स्थानीय स्रोत साधनको प्रयोग गरी निरन्तरता दिने बताउनुभयो । उहाले भन्नुभयो घरमै उत्पादन भएका अन्न, फलफूललाई पोषणका रूपमा प्रयोग गर्न सकिने रहेछ । 

गाउँपालिकाले आगामी दिनमा विद्यालय तहमा पोषण शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्थानीय कृषकसँग सहकार्य गरी पोषणयुक्त बाली प्रवर्धन गर्ने, तथा समुदायलाई लक्षित गरी पोषणसम्बन्धी नियमित तालिम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

पोषण विज्ञ निरज केसीले खान नपाएर भन्दा पनि सही तरिकाले खान नजानेर बालबालिका कुपोषित हुने गरेको बताउनुभयो । उहाले भन्नुभयो स्थानीय सरकारको यस्तो कार्यक्रमले पोषण व्यवहार सुधार्न सहयोग पुर्‍याउँछ।”

गर्भावस्थादेखि शिशु दुई वर्ष पुग्दासम्मको ‘हजार दिने’ अवधिलाई शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। सोही अवधिका आमाहरूलाई लक्षित गरी गरिएको यो पहल मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ।