• २९ जेठ २०८२, बिहिबार

विष्फोटक पदार्थको व्यवस्था नहुँदा सडक निर्माण रोकियो

blog

निर्माण कार्य रोकिएको सडकमा होल खोप्ने कार्य गर्दै कामदार । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ २८ गते । सिमकोट हिल्सा खण्डको सडकको विकल्पका रूपमा निर्माण सुरु भएको तुम्कोट रङ्गिफुङ हुँदै कोङगुम्वाबाट हिल्साम्मको सडकको निर्माणको काम रोकिएको छ । कडा चट्टानी क्षेत्रमा सडक निर्माण गर्नुपर्ने र तर हालसम्म विष्फोटक पदार्थको व्यवस्था हुन नसकेको कारण काम अगाडि बढ्न नसकेको हो । 

१५ दिनदेखि तुम्कोट रङ्गिफुङ हुँदै कोङगुम्वाबाट हिल्सासम्मको सडकको निर्माण कार्य रोकिएको निर्माण कम्पनी साङ्गे निर्माण सेवाका प्रतिनिधि गोविन्द लामाले बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर आए पनि विष्फोटक पदार्थको व्यवस्था हुन नसक्दा काम रोक्नु र विनियोजित बजेट फिर्ता पठाउनुको विकल्प निर्माण कम्पनीसँग नभएको उहाँले बताउनुभयो । 

विष्फोटक पदार्थको सिफारिसका लागि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोली सडक निर्माणस्थलमा एक महिना अगाडि पुगेर विष्फोटक पदार्थ आवश्यक पर्ने सिफारिस गरेको थियो । सो विष्फोटक पदार्थका लागि गृहमन्त्रालयबाट सिफारिस भइसकेको र अहिले नेपाली सेनामा पुगेर रोकिएको उहाँले बताउनुभयो । बल्ल हुम्लाबाट विष्फोटक पदार्थको फाइल हुम्लाबाट जुम्ला गएको र जुम्लाबाट सुर्खेत हुँदै काठमाडौँ पुगेपछि अनुमति आउने जानकारी आएकोले काम गर्न कठिन भएको उहाँले बताउनुभयो । 

चार हजार ६७० मिटर उचाईको नारा लेकको सडकको वैकल्पिक मार्गको रूपमा यो सडकको निर्माण कार्य सुरु गरिएको हो । कडा चट्टानी क्षेत्र भएको कारण विष्फोटका लागि चार सय वटा होल खोप्ने कार्य भएको भएपनि हालसम्म विष्फोटक पदार्थको व्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिएको हो । मित्र राष्ट्र चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट हिल्सासम्म वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो ।  

२०८२ साल वैशाख ८ गते यो सडकको निर्माणका लागि नाम्खा गाउँपालिकाले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । यसका लागि यो आर्थिक वर्षमा ८० लाख बजेटको व्यवस्था गरिएको छ । अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण हिल्सा सिमकोट सडक योजनाले निर्माण सुरु गरेको छ । यो सडक निर्माणलाई अब  बर्सेनि निरन्तरता योजनाले जनाएको छ । 

योजनाले यो वर्ष दुई करोड १५ लाख लागतमा सडकको निर्माण सुरु गरेको छ । नारा लेकमा हिमपात जम्ने भएको कारण पाँँचदेखि छ महिना सडक हिउँदे याममा बन्द हुने गर्छ । हिल्सा सिमकोट सडक योजनाले बर्सेनि हिउँ फाल्नका लागि बजेट खर्च गर्दै आएको छ । त्यसैगरी हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ । यसलाई बर्सेनि मर्मत गर्नु परिरहेको छ ।

हाल निर्माण सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ । यो खण्डको सडक निर्माण भए सधै हिउँ नजम्ने र बाह्र महिना सडक सुचारु हुने नाम्खा गाउपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । अर्काे कुरा तुम्कोट नारा हिल्सा सडक ३७ किलो मिटर लम्बाई रहेको छ भने यता तुम्कोट रङ्गिफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ । यस हिसाबले साढे दस किलो मिटर सडक पनि छोटो हुने छ ।