• २९ जेठ २०८२, बिहिबार

जलवायु परिवर्तनको असरमा नेपाललाई क्षतिपूर्ति दिनुपर्छ :अध्यक्ष प्रचण्ड

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थासाङ गाउँपालिकाको लेतेमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २८ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनमा नेपालले नगरेको गल्तीको सजाय भोग्नुपरेको बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा हानि–नोक्सानीको क्षतिपूर्तिका लागि आफुँले निरन्तर दबाब दिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफुँ प्रधानमन्त्री हुँदा विभिन्न अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडाका बारेमा प्रष्ट भन्दै क्षतिपूर्ति वापत कोषमार्फत बर्सेनि सहयोगका लागि प्रयास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली जनताले गर्दै नगरेको अपरोधका सजाय भोग्नुपरेको छ, मैले जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दालाई दिएको प्राथमिकताको नतिजा आउन लागेको थियो, मेरो सरकार नै परिवर्तन भयो ।’’

थासाङ गाउँपालिकाको लेतेमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई अन्तर्राष्ट्रिय कोषबाट ५० करोड क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढेको अवस्थामा उक्त रकमलाई मुस्ताङ जिल्लामा दिने मेरो प्रयास भए पनि अहिले प्रक्रिया नै रोकिएको दाबी गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनबाट भोग्नुपरेको असरलाई न्यूनीकरण गर्ने नेपालजस्ता अति कम विकसित मुलुकहरूले निरन्तर दबाब दिनुपर्ने बताउनुभयो ।

यसैगरी, अध्यक्ष प्रचण्डले उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरलासहित चीनसँग जोडिएका नाकाहरू खोलेको बताउनुभयो । उहाँले आफ्नो चीन भ्रमणमा नाकामा भौतिक संरचना बनाउन समेत चिनियाँ पक्षले चासो दिएको बताउँदै नाकामा हुने समस्या तथा नियमित सञ्चालनका लागि सम्बन्धि निकायमा दबाब दिने बताउनुभयो ।

नाका सञ्चालन, स्थानीयको सहजता र आर्थिक गतिविधि नेपालीको साझा मुद्दा भएकाले सरकार बाहिर भए पनि निरन्तर प्रयास गर्ने उहाँको भनाइ छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा स्थानीयको समस्यालाई समेत सम्बन्धित निकायको ध्यानार्कषण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाउनुभएको छ ।