• ३० जेठ २०८२, शुक्रबार

औपचारिक कार्यक्रमले मात्रै जातीय विभेद हट्दैन

blog

काठमाडौँ, जेठ २८ गते । विगत २५ वर्षभन्दा बढी समयदेखि जातीय विभेद अन्त्यका एक अभियन्ता हुनुहुन्छ, संस्कार शिरोमणि ज्योतिषी आचार्य पण्डित गणेशप्रसाद पन्त पञ्चाङ्गकार ।

जातीय विभेद अन्त्य तथा समावेशीमूलक समाज निर्माणका लागि दलित समुदायको घरमै गएर जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड विवाह, ब्रतवन्ध जस्ता कार्यक्रममा उहाँले कर्मकाण्ड गराउँदै आउनुभएको छ ।

उहाँले दलित समुदायको दुई सय वेदाध्यायन, बाह्र सय न्वारन, ३३ वटा महारुद्राभिषेक लगायत हालसम्म एक सयभन्दा बढी प्रकारका चार हजार कर्मकाण्ड सम्पन्न गराएको बताउनुभयो । 

उहाँले समावेशीमूलक समाज निर्माणमा सरकारको गम्भीर ध्यानाकर्षण हुन नसकेको बताउनुभयो । आफूले जस्तै सबै धार्मिक गुरुले पनि जातीय विभेद अन्त्यका लागि प्रयोगात्मक अभ्यास गर्नुपर्ने उहाँको धारणा छ । 

उहाँले भन्नुभयो, “एकातिर विभेदको अन्त्य गरौं भन्छन् तर, वास्तवमा विभेद अन्त्य भएको छैन । यसमा सरकार लगायत सरोकारवाला निकायले मतलबै नराखेको अवस्था छ । एनजिओ, आइएनजिओको सभा, गोष्ठी कार्यक्रमले मात्रै विभेद अन्त्य हुँदैन ।”

उहाँका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३५ जनाको समूह बनाएर दुई दशक पहिलेदेखि ज्योतिषे र कर्मकाण्ड विषयमा प्रयोगात्मक अध्ययन गराउँदै आएको जानकारी दिनुभयो । 

उहाँले शिल्पी लगायत जुनसुकै समुदायले यस समितिमार्फत  अध्ययन–अध्यापन गराउनसक्ने जानकारी समेत दिनुभयो ।