• २५ जेठ २०८२, आइतबार

पर्यटकको पर्खाइमा धाननाच पार्क

blog

सदरमुकाम फुङ्लिङको हटिया लाइनस्थित तोक्मेडाँडामा रहेको धाननाच स्तम्भ पार्क । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, जेठ २५ गते  । ताप्लेजुङको धाननाच स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) पार्क यतिबेला पर्यटकको पर्खाइमा छ ।  स्थानीय संस्कार, संस्कृति र पहिचान उजागर गर्दै पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्ने गरी सदरमुकाम फुङ्लिङ बजारको हटिया लाइनमा लिम्बू जातिको संस्कृति झल्कने धाननाच स्तम्भ निर्माण गरिएको हो । 

मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ तथा प्रतिमासहितको पार्क निर्माणले संस्कृतिको उजागर र संरक्षणमा टेवा पुगेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।  पछिल्लो समय यो पार्कले पर्यटक आकर्षित गरेकाले यहाँ पुग्ने पर्यटकको सङ्ख्या बाक्लिँदै गएको व्यवसायीको भनाइ छ । यहाँ राखिएको लिम्बू संस्कृतिमा आधारित दुई पुरुष र दुई महिलाले एकापसमा हात समाएर धाननाच प्रस्तुत गरिहेको प्रतिमाले पर्यटकलाई आकर्षित  गर्ने गरेको छ । 

यस्तै पृष्ठभूमिमा कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) धामको प्रतिमा झल्किने आकृति चित्र निर्माण गरिएको छ । साथै संस्कार संस्कृतिकै पहिचान झल्काउने गरी राई, लिम्बू, तामाङ, मगर, सुनुवारलगायत जनजाति समुदायको वेषभूषा र पहिरन लगाएका नागरिकको कलात्मक चित्रले पर्यटकलाई थप आकर्षित गराएको छ । लिम्बू समुदायकै सांस्कृतिक नृत्य च्याब्रुङ नाच (केःलाङ) को कलात्मक चित्र पनि पार्कमा निर्माण गरिएको छ ।

आदिवासी जनजाति समुदायको संस्कार र संस्कृति झल्किने कलात्मक प्रतिमा र चित्रले सबै समुदायका नागरिक तथा पर्यटकलाई आकर्षित गरेको पर्यटन व्यवसायी हर्कराज गुरुङको भनाइ छ  ।  उहाँ भन्नुहुन्छ, “पार्कमा रहेको आदिवासी जनजातिको विशेष प्रतिमा तथा चित्र अवलोकनका साथै अध्ययन र अनुसन्धानका लागि स्रोत भएकाले पनि पर्यटक तथा आगन्तुकका लागि एक महŒवपूर्ण केन्द्र बनेको छ ।”

स्थानीय अगुवा कीर्तिमान मादेनले कलात्मक प्रतिमा र आकृति चित्रसहितको पार्क स्थापनाले मौलिक संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्नुका साथै सम्बन्धित समुदायका नयाँ पुस्ताका लागि अनुसरण गर्न र मौलिक संस्कृतिबारे जानकारी राख्ने थलो (स्थल) बनेको धारणा राख्नुभयो ।  उहाँले भन्नुभयो, “आधुनिकतासँगै नयाँ पुस्ताले आफ्नो मौलिक पहिचान, संस्कार र संस्कृति बिर्सिंदै गएको अवस्थामा पार्कले संस्कृति उजागर गर्नमा समेत सहयोग पुग्ने छ ।”