• २४ जेठ २०८२, शनिबार

सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक सचेतना सप्ताह सुरु

blog

ट्राफिक सचेतना सप्ताहको अवसरमा सदरमुकाम मलङ्गवामा निकालिएको प्रभातफेरी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक अनुशासन पालन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बिहीबारबाट ट्राफिक सचेतना सप्ताह सुरु गरेको छ । ‘सेफ ड्राइभ, लङ लाइफ’ भन्ने मूल नारासहित ट्राफिक सचेतना सप्ताहको सुरुवात गरिएको हो । 

ट्राफिक सचेतना सप्ताहको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । 

ट्राफिक सचेतना सप्ताहको उद्घाटनको अवसरमा सदरमुकाम मलङ्गवा बजारमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रजोश घिमिरेले एक हप्तासम्म अभियानका रूपमा चलाउन लागिएको ट्राफिक सचेतना सप्ताह अन्तर्गत यात्रु, सवारी चालकलगायतलाई सडक सुरक्षाको सम्बन्धमा सचेतना प्रदान गरिने जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहले पछिल्ला दिनमा ट्राफिक नियमको पालनामा बेवास्ता र सडकको खराब अवस्थाले गर्दा जताततै सडक दुर्घटना वृद्धि भएको बताउनुभयो । उहाँले नयाँ सडक निर्माण गर्दा नै दुर्घटनाबारे ख्याल नगरी जथाभाबी घुम्ती, पुल, पुलेसा बनाइँदा समस्या भइरहेको बताउनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चालक स्वयं पनि दुर्घटनाको सम्बन्धमा जिम्मेवार हुने भएकाले लापरवाही ढङ्गले सवारी चलाउन छाड्न आग्रह गर्नुभयो । सर्लाहीमा पछिल्ला दिनमा सवारी दुर्घटनामा मानिसको मृत्यु हुनेक्रम अत्यधिक बढिरहेको छ । 

१८ दिनको अवधिमा सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भइसकेको छ ।