• २३ जेठ २०८२, शुक्रबार

दाउन्नेको यात्रा सकसपूर्ण : हल्का पानी पर्दा सडक अवरुद्ध

blog

दाउन्नेको सडक ।

बोमलाल गिरी

नवलपुर, जेठ २२ गते । गत जेठ ८ गते बिहीबार राति परेको पानीले पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक खण्डको एकैसाथ तीन ठाउँमा बाटो अवरुद्ध भयाे । चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोलामा गरी ३ ठाउँमा एक साथ सडक अवरुद्ध भयो।

बिहिबार रातिदेखि अवरुद्ध भएको सडक चोरमारा र दाउन्ने शुक्रबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आयो भने दुम्किबासको डाइभर्सन शनिबार निर्माण सकिएर आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आयो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र वैशाख २९ गते होङ्सी सिमेन्टको १८ चक्के टेलर हिँड्दै गर्दा पुल भाँचिए । पुल भाँचिएपछि डाइभर्सनमार्फत् गाडी आवतजावत गराउने गरिए पनि खोलाले पटकपटक डाइभर्सन बगाएपछि यात्रा कष्टकर बन्दै गएको छ । तीन ठाउँमा सडक एकतर्फी भएपछि यात्रुले निक्कै सास्ती बेहोर्नुपर्‍याे ।

त्यसमाथि दाउन्नेको सडक सबैका लागि टाउको दुखाइको विषय भएको छ । पुल भाँचिएपछि बनाइएका अस्थायी डाइभर्सन र हल्का पानी पर्दा पनि चिप्लिने दाउन्नेको सडकले निर्धारित समयमा गन्तव्यमा पुग्न असम्भव जस्तै भएको छ ।

बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुले गुनासो गरेका छन् । शुक्रबार त्रिवेणीबाट नवलपुर सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउ र बर्दघाट फर्कन १२ घण्टासम्म समय लागेको बताउनुभयो ।

साढे ६ वर्षमा अलिकति राहात महसुस हुनेगरी काम भएपनि दाउन्नेको सडक नबन्दा यो वर्ष पनि यात्रु र चालकले सास्ती पाउने भएका छन् । डाउन्नेको सडक विस्तारका लागि भन्दै एक महिनासम्म राति पाँच घण्टा र ५ दिनसम्म दिउँसो पाँच घण्टा सवारी आवागमन रोकेर काम गरिए पनि सोचेअनुसार काम नसकिएपछि अव वर्षाअघि यो सडक नबन्ने भएको हो ।


नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यो वर्ष पनि निर्माण कम्पनीले दाउन्नेको सडक कालोपत्रे वा ढलान गर्ने छनक नदेखाएको बताउनुभयो । निर्माण कम्पनीले काम गर्छुगर्छु भन्ने तर काममा तिब्रता नदेखाएकाले यो पटक पनि वर्षामा यात्रा सकसपूर्ण हुने देखिएको प्रजिअ पाण्डेको भनाइ छ ।

"वर्षाअघि दाउन्नेको सडक नबन्ने नै देखियो, उहाँहरू (ठेकेदार) काम गर्दैछौं भन्नुहुन्छ, तर अब जति गर्‍छाैँ भने पनि वर्षा लागिसकेकाले बाटो बन्ने अवस्था देखिन्न," प्रजिअ पाण्डेले भन्नुभयो, "यो वर्षामा यो बाटोले धेरैलाई दुःख दिनेवाला छ ।" अहिले हल्का पानी पर्नासाथ दाउन्नेको उकालोमा सवारी साधन उक्लनै नसक्ने स्थिति भएकोले वर्षामा थप समस्या निम्त्याउने उहाँको भनाइ छ ।

दाउन्नेमा पूर्वी खण्डमा रहेको ९ किलोमिटर सडकमध्ये करिब ४ सय मिटर मात्र ढलान भएको छ । चिनीयाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारी रहेको छ । दाउन्ने खण्डमा त्यो बाहेक अन्य ढलान वा कालो पत्रेको काम यो वर्षा अगाडि हुन नसक्ने झाले बताउनुभयो ।

त्यसैगरी दुम्किबासको विनयी खोलाको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउन कम्तिमा १ महिना लाग्ने देखिएको छ । यहाँ पुल नबन्दासम्म डाइभर्सन नभत्कने गरी बनाउन लगाएको भए पनि त्यसो हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

गिरुवारी खोलामा पुरानै पुललाई मर्मत गरेर सञ्चालन गरिएको छ । दुम्किबासको विनयी खोलामा भने नयाँ पुल निर्माण सक्ने तयारी छ । दुम्किबासको नयाँ पुल चाइना स्टेट कम्पनीले बनाइरहेको हो भने दुम्किवासमै डाइभर्सनको काम भने सडक आयोजनाले गरेको छ । त्यस्तै चोरमाराको पुरानो पुल मर्मतको काम सडक आयोजनाले गर्दैछ भने नयाँ पुल चाइना स्टेट कम्पनीले गर्दैछ ।

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर झाले दुम्किबासको पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन कम्तिमा १ महिना लाग्ने बताउनुभयो । उहाँका अनुसार ढिलोमा असार मसान्तसम्म दुम्किबासको पुल सञ्चालनमा ल्याउन सकिने छ ।


दुम्किवासस्थित विनयी खोलाको पुल पनि भाँचिएको हुनाले गिरुबारीको पुल निर्माण गर्ने स्रोत साधन विनयी खोलामा लगाउनु पर्दा गिरुबारीको नयाँ पुल निर्माणमा ढिलाइ भएको सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी, इन्जिनियर शिव खनालले बताउनुभयो । सडक आयोजनाले वर्षाअघि सकेसम्म दाउन्नेसहित सबै बाटोको एकतर्फी कालोपत्रे गरिसक्ने नभ्याएमा दाउन्ने बाहेकको काम सक्ने प्रतिबद्धता जनाएको थियो । तर वर्षा लागिसक्दा पनि चोरमारा, आरुङखोला, दुम्किवासको मुख्य सडक एकतर्फी पनि कालोपत्रे हुन सकेको छैन ।

अन्तिम समय भन्दै तेस्रो पटक थपिएको म्याद सकिन अब ५० दिन मात्र बाँकी छ । सरकारले साउन ८ गतेसम्मका लागि भन्दै तेस्रो पटक एक वर्षका लागि म्याद थपेको थियो । अब वर्षा लागिसकेकाले यो बाँकी समयमा पनि काम नसकिने निश्चित जस्तै छ । त्यसैले अब ठेकेदार कम्पनी फेरि म्याद थपको लबिङमा लाग्ने देखिन्छ ।

यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमि सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक बनाउने योजना हो । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चिनीयाँ ठेकेदार कम्पनीसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर साढे ६ वर्ष बित्दासमेत एकतर्फी कालोपत्रे सकिएको छैन भने सजिलो र जंगल क्षेत्रलाई प्राथमिकता दिएर दुईतर्फी कालोपत्रे गरेकाले बाटोको भौतिक प्रगती ६७ प्रतिशतको हाराहारी पुगेको छ ।

एसियाली विकास बैँक (एडिबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुबै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।