काठमाडाैँ, जेठ २२ गते । सिनेमा शिक्षाको माध्यमबाट विद्यार्थीमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले चलचित्र साक्षरता कार्यक्रम गरिएकाे छ । चोया डिजिटल सोलुसन प्रा. लि. को आयोजनामा बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडा तथा टोखा नगरपालिकाको सहकार्यमा तिलिङ्गाटार माध्यमिक विद्यालय कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले चलचित्रमार्फत् शिक्षाको प्रवर्धन गर्नु अहिलेको समयमा निकै सान्दर्भिक रहेको बताउनुभयाे । "विद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन् । नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ," उहाँले भन्नुभयाे ।
कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, चलचित्र विकास बोर्ड (सेन्सर बोर्ड) का सदस्य कुबेर अधिकारी, र चलचित्र पत्रकार सङ्घका महासचिव रघुनाथ सापकोटा अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको विशेष क्षणमा सेन्सर बोर्ड सदस्य कुबेर अधिकारीलाई नगर प्रमुख प्रकाश अधिकारीले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप बधाई पत्र प्रदान गर्नुभयो ।
यस्तै, कार्यक्रममा विद्यार्थीहरूलाई प्रेरणा दिने उद्देश्यले नेपाली चलचित्र ‘अन्जिला’ र ‘सतिदेवी’ प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै राजकुमार सिलवालले चलचित्र जस्तो सशक्त माध्यमले युवापुस्तालाई मार्गदर्शन गर्नसक्ने बताउनुहुँदै यस्ता कार्यक्रमले विद्यार्थीको सोच र सिर्जनशील क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । "सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो शिक्षाको माध्यम पनि हाे," उहाँले भन्नुभयाे ।
कार्यक्रमले सिर्जनात्मक माध्यमहरूको माध्यमबाट विद्यार्थीहरूको सामाजिक र भावनात्मक चेतना अभिवृद्धि गर्न सकिने स्पष्ट सन्देश दिएको छ। आयोजक संस्था चोया डिजिटल सोलुसन प्रा.लि. ले यस्ता कार्यक्रमलाई देशभर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यार्थी, शिक्षक तथा अतिथिहरूले यस्तो कार्यक्रमले विद्यालयस्तरमै सृजनात्मक सिकाइको अवसर दिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।