• २१ जेठ २०८२, बुधबार

विद्यार्थीलाई विपद्को तालिम दिन सके प्रभावकारी : मुख्यमन्त्री सिंह

blog

कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ १९ गते । मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले ग्रामीण भेगका विद्यार्थीलाई विपद् सम्बन्धी तालिम दिन सके उद्धारको काम अझ प्रभावकारी हुने बताउनुभएको छ । 

सर्लाही र रौतहटको सीमामा पर्ने नुनथरस्थित बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपूर्वी पृतनाको आयोजनामा भएको विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा मुख्यमन्त्री सिंहले विपद्को समयमा उद्धारका लागि गाउँ–गाउँमा विद्यार्थी तयार पार्नुपर्नेमा जोड दिनुुभएको हो । 

उहाँले प्रत्येक पालिकामा कक्षा ९, १० र प्ल टुमा पढ्ने विद्यार्थीलाई यस प्रकारको तालिम दिन सके गाउँघरमा जुनसुकै विपद् आउँदा सबैभन्दा पहिले उद्धारको काममा विद्यार्थीलाई खटाउन सकिने बताउनुभएको छ । 

सुरक्षा निकायमाधरी विपदमा खटिने खोताखोरसहितका दक्ष जनशक्ति पर्याप्त नरहेको अवस्थामा गाउँघरमा रहेका विद्यार्थीलाई यस सम्बन्धी तालिम दिँदा लाभदायिक हुने मुख्यमन्त्री सिंहको भनाइ छ । “अब विद्यार्थीलाई नै विपद् सम्बन्धी तालिम दिएर प्रत्येक पालिकामा विपदमा खटिन सक्ने जनशक्ति तयार पार्नुपर्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो, “हामीले यति गर्न सक्यौँ भने आफ्नो गाउँठाउँमा आइपर्ने जुनसुकै किसिमका विपदमा ‘फस्ट रेस्क्यू’ मा विद्यार्थी परिचालन हुन सक्छन् ।” 

मुख्यमन्त्री सिंहले यो वर्ष तुलनात्मकरूपमा बढी वर्षा हुने अनुमान गरिएकाले सोही अनुसार प्रदेश सरकार आफूसँग भएको स्रोत, साधन अनुसार सचेत भएर तयारी अवस्थामा बसेको बताउनुुभयो । उहाँले मधेश प्रदेशको कोशी, कमला, बागमती, बकैयालगायतका ठुला नदीबाट नजिकका बस्तीमा क्षति गर्न सक्ने आँकलन गरिएकाले सुरक्षा निकायलाई अलर्ट भएर बस्न कार्यक्रममा निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री सिंहले स्रोत, साधन र बजेट कम हुँदा विपद्को क्षेत्रमा आवश्यकता अनुसार काम गर्न नसकेको बताउनुुभयो । “हामीसँग सिमित बजेट हुने र त्यही बजेट सबै क्षेत्रमा बाँड्नुपर्ने बाध्यता छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो, “सङ्घीय सरकारले कुनै एक निकायको भन्दा प्रदेश सरकारको बजेट थोरै रहेकाले हामीलाई विपद्को क्षेत्रमा काम गर्नै अप्ठेरो परिरहेको छ ।” 

मधेश प्रदेश सरकारका गृह, सञ्चार एवं कानुनमन्त्री राजकुमार लेखीले विपद्को क्षेत्रमा सिमित मात्रामा भएको बजेट र स्रोत, साधन समेत प्रयोग हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशका आठ जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त बजेट समेत खर्च नभइरहेको बताउनुभयो । 

उहाँले विपद्को बजेट खर्च नभएर फिर्ता भइरहेको बताउनुभएको छ । “विपद्को क्षेत्रमा काम गर्न हामीलाई स्रोत, साधनको अभाव त छ तर भएकै साधन र बजेट पनि प्रयोग नहुनु दुःखद् हो,” प्रदेश सरकारका गृहमन्त्री लेखीले भन्नुुभयो, “यस विषयमा जिल्ला प्रशासनसहित सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।” 

नेपाली सेनाको मध्य पूर्वी पृतना बर्दीबास महोत्तरीका पृतनापति एवं उपरथी कृष्णबहादुर जिसीले  वर्षाद्को समयमा उद्धार तथा राहत वितरण र अन्य कार्यमा खटिन नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुुभयो । प्रदेश स्तरीय “अभ्यास हातेमालो” सातौं संस्करण नाम दिइएको विपद् प्रतिकार्य अभ्यासको मुख्यमन्त्री, मन्त्री, प्रदेशको विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, अन्य कर्मचारी, प्रदेशका सुरक्षा प्रमुख, सर्लाही र रौतहटका सुरक्षा अधिकारीलगायतले निरीक्षण गर्नुभएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी, बाढी र डुबानको संयुक्त अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेनाको सर्लाहीस्थित कालिध्वज गणले आगलागी नियन्त्रण तथा रौतहटस्थित नारायण दल गणले बाढी तथा डुबानको समयमा गरिने उद्धारको अभ्यास प्रदर्शन गरेको कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी गोविन्द विष्टले जानकारी दिनुभयो ।