काठमाडौँ, जेठ १९ गते। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ ।
नेकपा (एमाले) को संसदीय दलको आज बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो ।
“भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।”
सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्क पूर्णरूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिनुभयो ।
अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उहाँले राजतन्त्र आजको बहसको विषय नै होइन भन्नुभयो ।
“आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरूले श्रीलङ्का वा बङ्गलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।”
कतिपय पक्षमा सत्ता छोड्नु परेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उहाँले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताउनुभयो ।
“सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरूपमा विकास र सुशासनका लागि अघि बढ्ने छौँ ।”