ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १९ गते । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको बेंसी गाउँमा पाहुनाको स्वागतका लागि मादले–मारुनी नाच प्रदर्शन गरिएको छ । गाउँपालिका भित्र रहेका पुर्ख्याैली नृत्य समूहहरूले मादले–मारुनी नाचको प्रदर्शन गरेका हुन ।
अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवको तेस्रो दिन पदयात्री, पर्यटक र पाहुनाको स्वागतका लागि सोमबार मगर समुदायको मौलिक संस्कृति पुर्ख्याैली नाचअन्तर्गत रहेको मादले–मारुनी नाच प्रस्तुत गरिएको हो ।
परम्परागत मौलिक संस्कृतिको संरक्षण तथा अन्नपूर्ण हीरक महोत्सवका अवसरमा आएका पदयात्री, पर्यटक तथा पाहुनाको स्वागतका लागि गाउँपालिकाले पुर्ख्याैली नृत्यको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भोलि जेठ २० गते पनि मादले–मारुनी नाच प्रदर्शन गरिने पालिका अध्यक्ष पुनले बताउनुभयो । नृत्यमा पालिकाका विभिन्न सात वटा वडाका पुर्ख्याैली समूहहरुको सहभागिता रहेको पुर्ख्याैली नाचका संयोजक तथा वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । सातवटा समूहका नाच्ने, गाउने र बजाउने गरेर एकसय पचासभन्दा बढी कलाकारहरुले सहभागिता जनाएका छन् ।
मगर समुदायको मौलिक कला संस्कृति झल्किने मौलिक पोसाकमा सजिएर युवाहरूले मारुनी–मादले नाच प्रस्तुत गरेका छन् भने पाका पुस्ताका पुरुष र महिलाहरूले गीत गाएर साथ दिएका छन् ।
संस्कृतिको संरक्षण, स्थानीय कलाकारहरूलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिको बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले अन्नपूर्ण हीरक महोत्सवका अवसरमा मादले–मारुनी नाचको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पहिलो पटक अन्नपूर्ण आरोहण क्षेत्रमा जेठ १७ देखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर हीरक महोत्सव मनाइँदैछ ।