नागेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ १९ गते । जिल्लाको मटिहानी नगरपालिकाले बालविवाहलाई निरुत्साहित गर्न विभिन्न किसिमको जनचेतनामूलक कार्यलाई अगाडी बढाउँदै लगेको देखिएको छ ।
वि.सं.२०८३ सम्ममा नगरपालिकालाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप विगतदेखि नै नीति र योजना बनाई मटिहानी नगरपालिकाले जनचेतनामूलक कार्यलाई तिव्रता दिइरहेको छ ।
‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पुरा’ नाराका साथ नगरपालिकाले बालविवाह न्यूनीकरणको लागि पण्डित, पुरोहित र मौलवी मौलनाहरुलाई परिचालन गर्नुका साथसाथै बालविवाह नगर्ने अभिभावकहरुलाई सम्मान गर्ने कार्यक्रमहरु समेत गर्दै आएको छ ।
त्यसैगरी बालविवाह नगर्ने किशोर र किशोरीहरुको लागि सिपमूलक तालिमका साथसाथै विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय किशोरीहरुलाई लक्षित गरि सीपमूलक तालिमका साथसाथै सडकनाटकहरु समेत शुरु गरिएको बताउनुभयो ।
मटिहानी नगरपालिकाले विगतको चार वर्षदेखि पालिका भित्र बालविवाह न्यूनीकरण गर्नको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले सोमबार मात्रै मटिहानी नगरपालिकाको १ देखि ९ वडासम्म महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक कार्यक्रमको प्रारम्भ गरिएको जानकारी दिनुभयो।
मटिहानी नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख दीपा दासले जनकपुरस्थित रङ्गदर्पण संस्थाबाट मटिहानी नगरपालिकाको १० ठाउँमा सडक नाटक गरिने बताउनुहुँदै वडा नं. ६ बाट शुभारम्भ गरिसकिएको बताउनुभयो । अहिले समाजमा बढ्दै गइरहेको बालविवाहबाट हाम्रो समाजमा पर्ने नकारात्मक असर र बालविवाहले गर्दा हुने मानसिक, शारीरिक लगायतका समस्याहरुको बारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटक आयोजना गरिएको हो ।
कमजोर आर्थिक र सामाजिक विकास, कमजोर शैक्षिक अवस्था, उच्च जन्मदर, उच्च मातृदर तथा अहिले भागी विवाहको कारणले पनि मधेसमा धेरै बालविवाह हुने गरेको तथा मधेशको तल्लो तहमा यो संख्या विकराल देखिएकोले पालिकाले जनचेतनामूलक कार्यक्रमहरुलाई तिव्रता दिइरहेको शाखा प्रमुख दासले बताउनुभयो ।
नगरप्रमुख हरिप्रसाद मण्डलले विगत चारवर्षदेखि नै बालविवाह नगर्ने सात दर्जन अभिभावकहरुलाई सामुहिक रुपमै कार्यक्रमको आयोजना गरेर दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्ने गरिएको बताउनुहुँदै किशोरीहरुलाई लक्षित गरि सिप मूलक तालिम आयोजना गरिएको छ ।
एक महिना अगाडी मात्रै मटिहानी नगरपालिकाले बालविवाह नगर्ने किशोरीहरूको लागि एक महिने मिथिला पेन्टिङ सिप विकास तालिम आयोजना गरेको थियो । जसमा ३० जना किशोरीहरूलाई उक्त तालिम दिइएको थियो ।
नेपालमा भएको पछिल्लो जनगणना अनुसार तराई मधेसको २० वटा जिल्लामा बालविवाहको प्रतिशत ४२.२ छ भने महोत्तरीमा बालविवाह प्रतिशत ४३.३ रहेको देखिएको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।