• २१ जेठ २०८२, बुधबार

महाकालीको माछा बेचेर जीविका चलाउँदै

blog

कञ्चनपुर, जेठ १९ गते ।  भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आउनुभएको छ । 

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताउनुभयो । उहाँले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्नुहुन्छ । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उहाँले बिक्री गर्नुहुन्छ । 

“ताजा माछाको माग बढी हुन्छ,” राईले भन्नुभयो, “ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो २५० र ठूलो माछा ३०० मा बिक्री हुन्छ । उहाँको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बिचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्नुहुन्छ । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उहाँको भनाइ छ । 

माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजारसम्म कमाइ हुने गरेको राईले  बताउनुभयो । उहाँसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उहाँले माछा बिक्री गरेको आम्दानीले धान्ने गर्नुभएको छ । माछा मार्न उहाँ समूह बनाएर जाने गर्नुहुन्छ । 

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आउनुभएकी पार्वती चौधरी बताउनुहुन्छ । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको  उहाँले बताउनुभयो । “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ”, चौधरीले भन्नुभयो । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन । रासस