चाँदनी आचार्य
घोडाघोडी(कैलाली), जेठ १९ गते । कैलालीमा सुतीरहेको गोठमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका १० जवलपुर गाउँको एक गोठमा आगलागी हुँदा गोठको भुइँतलामा सुतेका ७२ वर्षीय कक्रु डङ्गौरा थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
गएराती करिब २ बजेको समयमा काठ र खरले बनेको गोठमा एक्कासी आगलागी भएको परिवारले थाहा पाएपछि गोठमा बाँधेका गाईगोरु खोलेर छोडे पनि गोठको माथिल्लो तलामा सुतेका वृद्ध थारूको जलेर घटना स्थलमै मृत्यु भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज खेमराज पन्तले प्रहरीलाई खबर हुनासाथ घटना स्थलपुगेको जनाउँदै आगलागीको कारण खुल्न नसकेको बताउनुभयो । उहाँले नजिक कतै आगो बालेको र वृद्ध थारूले चुरोट खाने गरेको अनुसन्धानबाट नपाइएको बताउँदै गोठमा बिजुली बत्तीकाे तारबाट बल्ब बल्ने व्यवस्था रहेकोले विद्युत् सर्ट भएको हुनसक्ने जनाउनुभयो ।