काठमाडौँ, जेठ १९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनु भएको हो ।
उहाँ जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएको थियो । उहाँसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारीलगायत रहनुभएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभयो । मन्त्री भण्डारीका अनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणका क्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृतिक सम्बन्ध, अर्थ कूटनीतिलगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताउनुभयो । उहाँले चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो जानकारी दिनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, "सम्माननीय पूर्वराष्ट्रपतिज्यूले सभामा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समुदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यूलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ताहरू भयो ।"
उहाँले नेपाल–चीनबिचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबिचका साझा मान्यताहरू, समझदारी र सम्झौताहरू समेत पुनर्ताजगी गर्ने भ्रमणका रूपमा रहेकाे बताउनुभयाे । "यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कूटनीतिहरूका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भएको छ," उहाँले भन्नुभयाे ।