बोमलाल गिरी
नवलपुर, जेठ १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किँएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार रुपन्देहीको बुटवल गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र सोही ठाउँका २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली–१७ का १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का घाइते भएका नेपालले जानकारी दिनुभयो ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र एम्बुलेन्समा आएका बिरामीहरुलाई अन्य एम्बुलेन्समा राखी चितवन पठाइएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।