हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ १९ गते । आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सब डिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ ।
राति ठाउँ–ठाउँमा ढलेका रुखका कारण सडक अवरुद्ध भएको थियो । हावाहुरीले किसान र साना उद्यमीको व्यवसायमा पनि असर गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम सुरु गर्नुभएका देवीप्रसाद सापकोटाको जाँतेली ममि च्याउ उद्योगका टहराहरू हावाले उडाएको छ ।
सापकोटाका अनुसार च्याउ उद्योगको टिनको छाना उडाउँदा करिब २५ सय पोका च्याउ नष्ट भएको छ । अन्य संरचनामा पनि क्षति पुगेको छ । सापकोटाले १५ लाख रुपियाँ बराबरको क्षति भएको दाबी गर्नुभयो । जाँते क्षेत्रमा हावाहुरीले सुपारी र केराका बोट ढलाएको स्थानीय डम्बर जाँतेलीले बताउनुभयो ।
त्यस्तै, हावाहुरीले बिजुलीका पोल ढाल्दा लेटाङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । विद्युत कार्यालय लेटाङका प्रमुख गोपाल पराजुलीका अनुसार बेलचौरीमा चार वटा, किराँत चोकमा एउटा, कमलपुरमा चार वटा र खेरुवामा एउटा हाइटेन्सन विद्युत् प्रसारण लाइन ढलेको छ ।
उर्लाबारीमा समेत इटहरा–उर्लाबारी सडक किनारका रुखहरू ढल्दा अवरुद्ध भएको सडक बिहानदेखि सुचारु भएको छ ।