फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १९ गते । यात्रुसँग बढी भाडा लिने राइडरहरुलाई कास्की प्रहरीले कारवाही गरेको छ । एपमा देखिएभन्दा बढी भाडा असुल्ने आठ वटा दुई पाङ्ग्रे सवारीका राइडरलाई कारवाही गरिएको हो ।
यातायात व्यवस्था ऐन २०४९ बमोजिम उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पाँच/पाँच सय जरिवाना तिराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यातायात व्यवसायीको सार्वजनिक यातायात बन्दको समयमा पठाओ राइडरहरुले बढी भाडा लिएको गुनासो आएपछि प्रहरीले आइतबार दिउँसो चेकजाँच गरेको थियो ।
जेठ १६ गतेबाट यातायात व्यवसायीले गण्डकी प्रदेशमा सुरु गरेको सार्वजनिक यातायात बन्द सोमबार चौथो दिन पनि जारी छ । पर्यटक बसहरु पनि अहिलेसम्म कास्कीबाट बाहिरिएका छैनन् । अनुकूल समयमा दिउँसो एस्कर्टिङ गरी पर्यटक सवारीलाई पठाइने कास्की प्रहरीले जनाएको छ ।