ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रवर्धनका लागि पदयात्रा गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरुसहितको टोली पदयात्रामा निस्केको हो ।
अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोग, बुहारी, नाति, फ्रान्सेली कलाकारहरु, पर्यटनकर्मी, सञ्चारकर्मीसहित करिब दुई सय जना पदयात्रामा सहभागी भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा अन्नपूर्ण पर्यटन विकास समितिका सदस्य तेज गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नारच्याङ देखि १६ किलोमिटर दूरीको सवारीसाधनको यात्रापछि हुमखोलामा पुगेर आइतबार दिउँसोदेखि पदयात्रा सुरु गरिएको छ । पहिलो दिन पदयात्रीहरु गुफाफाँट, साँधीखर्क र केही पदयात्रीहरु भुस्केटमेलासम्म पुगेका छन् । दोस्रो दिन सोमबार (आज) चार हजार ५० मिटरको उचाइमा रहेको पञ्चकुण्डमा तालमा पदयात्रीहरु पुग्नेछन् ।’’ त्यहाँ पुगेका पदयात्रीहरुको स्वागत र सम्मानका लागि साँझ फ्रान्सेली कलाकारहरुले टोलीले साङ्गीतिक साँझको कार्यक्रम आयोजना गर्नेछन् ।
पदयात्राको क्रममा हुमखोलामा पुग्नुभएका पहिलो आरोही हर्जोगका छोरा माथिएस हर्जोगले आफ्ना बुबाको सम्मानका लागि नामकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्न पाउँदा बुबाप्रति उच्च सम्मानको अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘म यस क्षेत्रमा दोस्रो पटक आएँ । अहिले नेपाल सरकारले अन्नपूर्ण हीरक महोत्सव मेरा बुबाले अन्नपूर्ण आरोहण गरेको क्षेत्रतर्फ मनाउने निर्णयले मलाई अत्यन्तै खुसी बनाएको छ । नेपाल सरकारलाई धन्यवाद छ । अहिले मेरो नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहलाई पनि सँगै लिएर आएको छु ।’’
पदयात्रामा रहनुभएका पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरसम्म गरिएको पदयात्राले यो क्षेत्रलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । पदयात्रामा अन्नपूर्णको पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगसहित फ्रान्सेली कलाकारहरुको सहभागिताले सम्पूर्ण पर्यटनकर्मीलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।
यसैगरी, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्ण आचार्यले ७५ वर्षपछि बल्ल अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा नेपाल सरकारले पहिलोपटक आयोजना गरेको कार्यक्रमले ओझेलमा परेको उत्तरी आधार शिविरको पर्यटन सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जुन ३ अर्थात् जेठ २० गते मङ्गलबार बिहान चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हीरक महोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।
प्रधानमन्त्री ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण, खुला सङ्ग्रहालयको उद्घाटन, मौरिस हर्जोग पदमार्ग र म्यारथान दौड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री ओली नारच्याङको बेंसी गाउँमा आयोजित अन्नपूर्ण हीरक महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुनुहुनेछ ।
आजभन्दा ७५ वर्ष अघि जुन ३ अर्थात् जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ ।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षणको केन्द्र बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान गण्डकी, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि हीरक महोत्सव सुरु भएको छ । ओझेलमा परेको यस क्षेत्रमा यसपटक अन्नपूर्ण हीरक महोत्सवले यस क्षेत्रका पर्यटनकर्मी र स्थानीयवासीहरुलाई उत्साहित बनाएको छ ।