• २१ जेठ २०८२, बुधबार

समविकासको आधारविन्दु

blog

कलामा मूर्त र अमूर्त स्वरूप रहने गर्छ । सदृश्य वा जे देखिन्छ त्यस्तै बनाउनु शिल्पगत क्षमता हो भने देखिएका, भोगिएका कुरालाई कलाकारले मनको अन्तस्करणबाट देखाउँछ भने सो कला सदृश्य  हुन सक्छ । तथापि सो कलामा भावको पनि सञ्चार भएको हुन्छ र कलाले संवेगलाई स्थापित गराउँछ । 

प्रस्तुत चित्र कलाकार लालकाजी लामाको हो । लालकाजी लामा चित्रकारिताको सुरुवातमा थाङ्का पनि कोर्ने भएका कारण उनका चित्रमा परम्परागत कलाको अवशेषका रूपमा बादल, पानी आदि देख्न सकिन्छ । यस चित्रमा पनि कलाकारले नेपालको सांस्कृतिक विविधताका साथै हिमाल, पहाड र तराईलाई संयोजन गरेका छन् ।   

चित्रमा निलो रङको प्रधानता रहेको छ । एक प्रकारले चित्रमा एक रङ्गीय (मोनोक्रोम) को प्रभाव देखिन्छ । यसले चित्रलाई शीतल र शान्त देखाउन मद्दत गरेको छ । हिमाललाई लयात्मक बादल र सुन्दर (ध्वजा) ले ढाकेको छ भने पहाडी क्षेत्रमा मठमन्दिर र गाउँबस्तीका धेरै प्रतीकले चित्रमा स्थान पाएका छन् । 

यसै गरी चित्रको तल्लो भागमा नेपाली परम्परागत वास्तुकलाका साथै मठमन्दिर, चैत्यको उपस्थिति रहेको छ । त्यसभन्दा तल नेपालका नदीलाई सुन्दर ढङ्गले देखाइएको छ । बादलको प्रवाह र पानीका तरङ्गले चित्रलाई लयात्मक बनाएका छन् ।  

 केशवराज खनाल

–युवामञ्च