नवलपरासी समाचारदाता
कावासोती, जेठ १९ गते । केही दिनअघिदेखि पर्न थालेको पानीले पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको तीन वटै स्थानबाट सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु परेको छ । पानी पर्दा चोरमाराको गिरुवारीखोला, दुम्कीबासको विनयीखोला र दाउन्नेको खुर्सानीखोला क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार रातिदेखि अवरुद्ध चोरमारा र दाउन्ने क्षेत्रको सडक शुक्रबार दिउँसोबाट बन्द भएको थियो भने दुम्कीबास क्षेत्रमा डाइभर्सन भत्केपछि शनिबारबाट यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा दुम्कीबासबाट बर्दघाट वा बर्दघाटबाट दुम्कीबाससम्म आउने सवारीसाधन जाममा परेका छन् । शुक्रबार त्रिवेणीबाट सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउन र कावासोतीबाट बर्दघाट फर्किन १२ घण्टा लागेको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढको बाटो अहिले यात्रुलाई सधैँ सास्ती हुने बाटो बनेको छ । पछिल्लो समय पुराना पुल एकपछि अर्को भाँचिन थालेपछि यस वर्ष पनि बर्खामा सास्ती हुने भएको अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारीखोलाको पुल भाँचिदा स्थानीयलगायत सवारीचालक र यात्रुले सास्ती भोग्दै आएका छन् ।
गत २६ पुसमा भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासको पुल र २९ वैशाखमा होङ्सी सिमेन्ट कम्पनीको १८ चक्के टेलर पास हुँदा पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत हुँदै आए पनि अहिले फेरि पुल भासिएको प्रहरीले जनाएको र पानी रोकिएपछि मात्र अस्थायी डाइभर्सन बनाउने र यातायात सञ्चालनमा ल्याइने सडक आयोजनाले जनाएको छ ।