• २१ जेठ २०८२, बुधबार

सामुदायिक विद्यालयमा पूर्वाधार अभाव

blog

सिँजा समाचारदाता

सिँजा (जुम्ला), जेठ १९ गते । जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयले पूर्वाधार अभावका कारण विभिन्न समस्या झेलिरहेका छन् । तातोपानीमा रहेका २९ वटा सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयमा शौचालय, खानेपानी, मैत्रीपूर्ण कक्षाकोठालगायतका पूर्वाधारको अभाव रहेको पाइएको छ  । 

शनिबार सहयात्रा तेस्रो परियोजना अन्तर्गत तातोपानी गाउँपालिका, किर्डाक नेपाल, सेभ दी चिल्डे«नको सहयोग तथा शिक्षा पत्रकार समूहको सहजीकरणमा भएको ‘शिक्षा संवाद कार्यक्रम’ मा पूर्वाधार अभावको समस्या जोडदार रूपमा उठाइएको छ । 

यसका साथै शिक्षा पत्रकार समूह कर्णाली प्रदेशको टोलीले तातोपानीका छ वटा विद्यालयमा गरेको स्थलगत अनुगमनका क्रममा दिवा खाजा प्रवर्धन, छापामय विद्यालय, शैक्षिक गुणस्तरमा गम्भीर देखिए पनि पूर्वाधार अभाव झेलिरहेको भेटिएको हो ।

कार्यक्रममा जनजागृति मावि बारागाउँका प्रधानाध्यापक अमरबहादुर रावतले विद्यालयमा खेल मैदान, खानेपानी, मैत्रीपूर्ण शौचालयलगायतका अभाव रहेको बताउनुभयो । शिक्षक कालीबहादुर शाहीले दुर्गमका विद्यालयमा घेराबारलगायतका पूर्वाधार नहुँदा समस्या रहेको बताउनुभयो । 

दुर्गा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानले विगतको तुलनामा तातोपानीका सामुदायिक विद्यालयमा आधारभूत पूर्वाधार निर्माण भएको बताउनुभयो । 

उक्त कार्यक्रमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने स्थानीय सरकार सञ्चालनपछि हरेक विद्यालयमा पूर्वाधार निर्माण धमाधम भइरहेको दाबी गर्नुभयो । उहाँले विद्यार्थीका लागि बसाइ नै असहज हुने गरी पालिकाका कुनै पनि विद्यालयमा पूर्वाधारको अभाव नरहेको बताउनुभयो ।