• २१ जेठ २०८२, बुधबार

दुई नगरपालिका जोड्ने निर्माणाधीन पक्की पुल

blog

मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बाघाटमा निर्माणाधीन पक्की पुल । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), जेठ १९ गते ।
बर्दियाको मधुवन नगपालिका र बार बर्दिया नगरपालिका जोडने बबई नदीमा पक्कीपुल निर्माणले दुई पालिकाका स्थानीयलाई खुसी थपिदिएको छ ।

मधु वन नगरपालिका र बारबर्दिया नगरपालिका जोडने बबई नदीको कुसुम्बाघाटमा पक्की पुल बन्नु पूर्व त्यस क्षेत्रका मानिसहरू हुलाकी सडक र आफ्नै सदरमुकाम गुलरिया आउन पनि ज्यान जोखिममा राखेर डुङ्गाको सहारा लिनु पर्थ्यो । धेरै पटक पुल निर्माणको माग उठेपछि सरकारले कुसुम्बाघाटमा २०७३ मा  झोलुङ्गेपुल निर्माण गर्‍यो, तर २०७४ सालमा बबई नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि बारबर्दियाका स्थानीयको पुलमा हिँडने सपना अधुरो रहो । त्यसपछि पुनः त्यस स्थानमा झोलुङ्गे पुल निर्माण भयो र मानिस र मोटरसाइकल आवत जावत गर्न सहज भयो ।

सङ्घीयतापछि विकासले नयाँ मोड लियो अहिले झोलुङ्गे पुलको किनारमा तीन सय ८४ मिटर लामो र ११ मिटर चौडाइ भएको पक्की पुल धमाधम निर्माण भइरहेको छ । त्यसै पुलबाट यातायात साधन सञ्चालन भए बारबर्दिया नगरपालिकाका स्थानीयलाई मोटर चढेर सदरमुकाम आउन र देशका विभिन्न सहरमा पुग्न सहज हुने विश्वास बार बर्दिया वासीको छ ।

गाउँघरमा जाने समय नदीमा डुङ्गाको जोखिम यात्रादेखि झोलुङ्गे पुलबाट यात्रा गरेका बारबर्दियाका स्थानीयलाई अब पुल निर्माण थप ऊर्जा प्रदान गर्ने देखिएको छ ।

बार बर्दिया नगरपालिका–४, पदनाहका स्थानीय फूलपाती चौधरीले पक्की पुल निर्माणले एउटा खुसी थपेको बताउनुभयो ।

यसैगरी, बारबर्दिया नगरपालिका–२ का राम लौटन थारुले त्यहाँ उत्पादन हुने अन्न, तरकारी मधु वन पुरयाउन पाए राम्रो बजार पाउने अपेक्षा कृषकको रहेको बताउनुभयो । 

पुल निर्माणले अहिले गति लिएको छ । पुल सेक्टर कार्यालय बाँकेले ४२ महिना समय राखेर २०७७ चैत १२ गते सम्झौता भएको पुलको आधाभन्दा बढी काम सकिएको छ । बारबर्दिया नगरपालिका वडा नं.४ का वडा अध्यक्ष सिताराम योगीले निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा कुनै कसर बाँकी नराख्ने र पुल निर्माणपछि बारबर्दियाको एउटा सपना पूरा हुने विश्वास आफूले लिएको बताउनुभयो ।

४९ करोड ४८ लाख ५७ हजार नौ सय रुपियाँमा हिम डुङ एण्ड ठोकर कन्स्ट्रक्सन पालिसँग पुल सेक्टर कार्यालय बाँकेले सम्झौता गरेको थियो । अहिले कुसुम्बाघाटतर्फ करिब ५५ प्रतिशत काम सम्पन्न भएको र पुल निर्माणकार्य निरन्तर भइरहेको पुल सेक्टर नेपालगन्जका इन्जिनियर लक्ष्मण केसीले जानकारी दिनुभयो ।

सङ्घीयता प्राप्तिपछि बर्दियाका विभिन्न स्थानमा एक दर्जन ठुला पुलहरू निर्माण भएका छन् । मान नदी, भादा, सर्यू नदी, लठुवाघाट, गाईघाट, दौलपुर, सन्कट्टी घाटलगायत केही स्थानमा पुल निर्माण सम्पन्न भएका छन् भने केही स्थानमा निर्माण भइरहेका छन् । विकासलाई गाउँ र गाउँलाई सहरसँग जोड्ने परिकल्पना पनि साकार हुँदैछ ।