• २१ जेठ २०८२, बुधबार

श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण

blog

भोजपुर,  जेठ १९ गते ।  पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखि पानीको समस्या झेल्दै आएका किसानलाई  सहजता भएको हो । 

यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिनुभयो । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उहाँको भनाइ छ ।

“यहाँका किसानलाई सिँचाइ कुलो नहुँदा धेरै नै समस्या थियो”, उहाँले भन्नुभयो, “हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहिनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।”

यो कुलोले हिउँदे र वर्खे गरीे तत्काललाई करिब ५० देखि ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिँचाइ सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताउनुभयो । यहाँ धेरै उर्बरभूमि रहेकोले सिँचाइ कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उहाँको भनाइ छ । 

सिँचाइ कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयवासी रुद्रबहादुर कोइरालाले बताउनुभयो । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखिको सिँचाइको समस्या अन्त्य भएको उहाँको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहजरुपमा समयमा खेती गर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“सिँचाइ कुलो नहुँदाको समस्या भनेर साध्य छैन”, उहाँले भन्नुभयो, “खेतीको लागि आकाशे पानीको भर पर्नुपथ्र्यो । खेतको व्याड, बीउ राख्न नै समस्या हुन्थ्यो । पानीको कारण दैनिकजसो छिमेकीसँग झगडा हुन्थ्यो । अहिले सिँचाइ कुलो बनेपछि हामीलाई सहज भएको छ । समयमा खेती गर्न पाएका छौँ । धेरै लामो समयपछि सिँचाइ कुलोको सपना पूरा भएको छ । हामीले एकदम खुसी छौँ ।”

कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताउनुभयो । कुलो बनेपछि १० मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उहाँको भनाइ छ । वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको उहाँले बताउनुभयो । सिँचाइ नहुँदा खेत बाँझिदै गएको अवस्थामा सिँचाइ विस्तारले ऊर्जा थपेको उहाँको भनाइ छ । 

निर्माणको काम सम्पन्न भएर पानी सञ्चालन गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताउनुभयो । आफ्नो गाउँघरमा सिँचाइको सुविधा विस्तारले उत्साह बढेको उहाँको भनाइ छ । कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

“भौगोलिक विकटताका कारण यो कुलो निर्माणमा धेरै समस्या थियो”, उहाँले भन्नुभयो, “भिरबाट कुलोलाई विस्तार गर्नुपर्ने भएकाले निकै जोखिम पनि थियो । हामी सबै उपभोक्ता मिलेर समयमा नै निर्माण सम्पन्न गरेका छौँ । सिँचाइ कुलो निर्माणमा हामीलाई सहजता भएको छ ।” रासस