• २१ जेठ २०८२, बुधबार

८१ प्रतिशत माटो अम्लीय, कृषि उत्पादनमा असर पर्ने सङ्केत

blog

शारदा नगरपालिका सल्यानले सञ्चालन गरेको माटो परीक्षण गरिँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 
सल्यान, जेठ १९ गते । जिल्लाको शारदा नगरपालिकाले कृषिक्षेत्रको सुधारका लागि माटो परीक्षण गरेको छ । शारदा नगरपालिका र सुर्खेतस्थित एकीकृत कृषि प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको माटो परीक्षणबाट नगरभित्रको अधिकांश माटो अम्लीयपना भएको पाइएको छ  ।  नगरपालिका भित्रका  ४१९ जना किसानले ल्याएका नमुनामध्ये ८१.८६ प्रतिशत माटोमा अम्लीयपना देखिएको हो ।

एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकाले परीक्षणमा ३४३ वटा नमुनामा अम्लीयता देखिएको छ भने ६९ वटा तटस्थ र सात वटा क्षारीय पाइएको  बताउनुभयो । उहाँका अनुसार माटोको यस अवस्थाले दीर्घकालीन रूपमा कृषि उत्पादनमा असर पार्ने भएकाले कृषि चुनको प्रयोग, प्राराङ्गारिक मलको प्रयोगलाई प्राथमिकता र रासायनिक विषादीको प्रयोग न्यून गर्नुपर्ने छ ।

परीक्षणमा माटोमा रहेका पोषक तत्वहरु नाइट्रोजन तत्व ४७ नमुनामा कम, ३६४ मा मध्यम र १८ मा धेरै पाइएको छ । फस्फोरस चारमा कम, ६९ मा मध्यम र ३४६ मा धेरै पाइएको छ । यस्तै, पोटास ७४ मा कम, १४२ मा मध्यम र १६३ मा धेरै देखिएको  छ ।

कृषि क्षेत्रको सुधारका लागि माटो परीक्षण महत्त्वपूर्ण भएकाले माटो परीक्षण गरिएको हो । शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरभित्र कृषि पकेट क्षेत्रको अवधारणा अघि सारिएकोले माटो परीक्षणको आधारमा उत्पादनशील क्षेत्र पहिचान गरी कृषि योजना बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कृषि क्षेत्रको सुधारको पहिलो कदम हो ।’’

नगर उपप्रमुख सुस्मिता सापकोटाले माटो परीक्षणबाट प्राप्त नतिजालाई नीति निर्माण र कार्यक्रम तर्जुमाको आधार बनाइने वताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अबको नीति तथा कार्यक्रम माटो परीक्षणका नतिजा अनुसार वैज्ञानिक कृषि प्रणालीमा आधारित हुनेछ ।’’

शारदा नगरपालिकाले माटोको गुणस्तर सुधार गर्ने दीर्घकालीन रणनीति अपनाउँदै किसानलाई समयमै जानकारी, तालिम र स्रोतसाधन उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।