रेखीराम राना
तानसेन, जेठ १९ गते । पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बाजस्तो देखिने जडीबुटी फेला परेको छ । स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको बताउनुभयो ।
उहाँले फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीलाई चेकजाँच गर्न डिभिजन वन कार्यालय पाल्पासँग समन्वय भएकोे बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार यार्सागुम्बा जस्तो जडीबुटी भेटिएको स्थानमा मानिसको भिड लागेपछि त्यस स्थानमा जान पूर्णरुपमा रोक लगाइएको छ ।
स्थानीय बासिन्दा भक्तजंग रानाले यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि आफूहरू आश्चार्यचकित परेको बताउनुभयो । फेला परेको जडीबुटी के हो तत्काल पत्ता लगाउन उहाँले गाउँपालिका र सम्बन्धित निकायसँग माग गर्नुभयो ।
रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाईमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्र पनि हो । डिभिजन वन कार्यालय पाल्पाले यार्सागुम्बा हो कि होइन भन्ने प्रमाणित गर्न नमुना सङ्कलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
‘‘नुमना सङ्कलन गरेर प्रयोगशालामा पठाइएको छ ।,’’ डिभिजन प्रमुख नारायणदेव भट्टराईले भन्नुभयो, ‘‘यार्सागुम्बा नै भए पनि कुन गुणस्तरको हो भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।’’ प्रयोगशालाबाट नतिजा प्राप्त भएपछि थप निर्णय हुने उहाँले बताउनुभयो ।