काठमाडौँ, जेठ १६ गते । महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका हुन् ।
महिनावारी स्वच्छताका लागि काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्यालीमा ३५२ जना महिलासहित ३९२ जनाको सहभागिता थियो ।
‘महिनावारी मैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ काठमाडौँको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली सुरु गरी ललितपुरको मङ्गलबजारमा समापन भएको हो ।
साइकल र्यालीको समापनका कार्यक्रममा अधिकांश सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन सभामा बोल्नुहुँदै राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहारमा सुधार हुनुपर्ने बताउनुभयो । उहाँले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यसैगरी, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको उल्लेख गर्नुभयो । उहाँले महिनावारीका बेला हुने पारिवारिक, सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जनामात्र महिला सहभागी भएको स्मरण गर्दै आठ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको उल्लेख गर्नुभयो ।
साइकल र्यालीका सहभागीले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने वा अलग व्यवहार भोग्नुपर्ने असामाजिक मान्यता चिर्न र्यालीमा सहभागी भएको धारण व्यक्त गरेका थिए ।
महर्जनले एक्सपोज नेपालमार्फत देशका विभिन्न जिल्लाका सयौँ महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाइ प्रयोग र बिक्रीमार्फत आर्थिक आम्दानीमा जोड्दै आउनुभएको छ ।