• २० जेठ २०८२, मङ्गलबार

विदेशमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न आग्रह

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, जेठ १४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विदेशमा कमाएको पुँजी र सिकेको सीप सुदूरपश्चिम प्रदेशमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ । 

बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम र लगानी तथा विकास सम्मेलनसम्बन्धी भर्चुअल माध्यमबाट आयोजना गरिएको सम्वाद कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

प्रदेश सरकारले आगामी असोजमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न गइरहेको भन्दै मुख्यमन्त्री शाहले थप्नुभयो, “लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार छ । विदेशमा कमाएको पुँजी र सिकेको सीप नेपालमै लगानी गर्नुहोस् ।”

सम्वाद कार्यक्रममा सहभागी भएका प्रवासी नेपालीहरुले सुदूरपश्चिम विकासका लागि लगानी गर्न तयार रहेको बताएका छन् । लगानीको वातावरण बनाउन उहाँहरुले प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । अस्ट्रेलियामा रहनु भएका डा. एकेन्द्र तिमिल्सिनाले आवश्यकताहरूका पहिचान र लगानीको वतावारण निर्माण गर्न जरुरी रहेको बताउनुभयो । 

सम्वाद कार्यक्रममा रसियाबाट प्रवीण खतिवडा, क्यानाडाबाट सन्तोष पाण्डेय, साउथ अफ्रिकाबाट हिक्मत थापालगायतले भाग लिनुभएको थियो । आगामी असोजमा प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ । त्यसैको पूर्व तयारी स्वरूप प्रदेश सरकारले विभिन्न क्षेत्रका विषयविज्ञ, प्रवासी नेपाली, नीजि क्षेत्र लगायतसँग छलफल गरिरहेको छ ।