विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ १४ गते । जिर्ण सडकका कारण आवतजावतमा समस्या भएको भन्दै यातायात मजदूरहरुले राजविराज बजार क्षेत्रका मुख्य चौकहरुमा चक्काजाम गरेका छन् ।
बुधबार विहानैदेखि यातायात मजदूरहरुले राजविराजस्थित रुपनी बस स्टेण्ड, खानेपानी मोड र हनुमान मन्दिर चौकमा सडकमै गाडी तेर्स्याएर आवागमन रोकेका हुन् ।
जिर्ण सडकको मर्मत सम्भार तथा स्तरोन्नतिको पटकपटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आन्दोलित भएका उनीहरुले बिच सडकमै आ–आफ्नो अटो र सिटी रिक्सा तेर्स्याएर चक्का जाम गर्नुका साथै प्रदर्शन समेत गरेका छन् ।
चक्का जामका कारण दुर्व तर्फका गरि सयौं सवारी साधन रोकिएर यात्रीहरुको बिच्चली भएको छ । राजविराजस्थित निर्माणाधीन सडकहरुमा परेका खाल्डाले साना ठूला सवारी साधनलाई आवत जावतमा समस्या हुँदै आएको छ भने जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य छन् ।
सडमा खाल्डाकै कारण ठेलामा चटपटी बेचेर गुजारा चलाउँदै गरेका राजविराज ८ निवासी सदानन्द भगतको ठेला सडकमै पल्टिदा त्यसमा रहेका सामाग्रीहरु नष्ट भएपछि यातायात मजदूर झनै आक्रोशित भएका थिए ।
जिर्ण सडकको स्तरोन्नति हुनुपर्ने माग राखि आन्दोलनमा उत्रिनु परेको मधेशी ट्रेड युनियन नेपाल सप्तरीका अध्यक्ष संजय साहले बताउनुभयो । सडक अति जिर्ण भएकाले आपतकालिन अवस्थामा रहेका विरामीलाई अस्पताल पुर्याउन पनि समस्या हुने गरेको उहाँको भनाइ छ ।
“धेरै ठाउँमा खाल्डाखुल्डी भएकाले गाडी धेरै हल्लिने र यसले विरामी तथा अन्य यात्रुलाई समेत असहज हुने गरेको छ,” अध्यक्ष साहले भन्नुभयो ।
यता ४ घण्टाको चक्काजामपछि नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले सडक स्तरोन्नति कार्यको जिम्मा पाएका निर्माण व्यवसायीहरुलाई झिकाई अविलम्ब निर्माण कार्य शुरु गर्न लगाउने प्रतिवद्धता जनाएपछि चक्काजाम खुलेको हो ।