यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया) जेठ १४ गते । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ बालापुर बस्ने ६ वर्षीया बालिका सायरा थारूकाे चितुवाको आक्रमणबाट मृत्यु भएकाे हाे ।
मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरी केही पर लगेपछि घरका अभिभावक र छिमेकीले हल्ला गरेर उहाँलाई छुटाएका थिए ।
बालिकाको उद्धार गरी तत्काल बर्दिया अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै जिल्ला अस्पताल बर्दियाका चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी चक्रबहादुर डम्बरपालले बताउनुभयो ।
सायराको घर बालापुरस्थित जङ्गलको छेउमा रहेको छ । पछिल्लो समयमा बर्दियामा गाउँबस्तीमा छिरेर चितुवाले आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।