• १४ जेठ २०८२, बुधबार

तीनसय रोपनीमा अकबरे खेती

blog

मस्र्याङ्दी गाउँपालिकामा लगाइएको अकबरे खुर्सानी । तस्विरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ १३ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा तीनसय रोपनी क्षेत्रफलमा ब्यावसायिक अकबरे खुर्सानी खेती गरिएको छ । 

गाउँपालिकाको अनुदान तथा प्राविधिक सहयोगमा यहाँका किसानहरुले  व्यावसायिक अकबरे खुर्सानीको ब्यावसायिक खेती गरेका छन् । गाउँपालिकाको नौ वटै वडामा गरेर तीनसय रोपनी क्षेत्रफलमा अकबरेको ब्यावसायिक खेती गरिएको कृषि शाखाका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । 

अकबरे खुर्सानीको ब्यावसायिक खेतीबाट किसानहरुको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । 

अकबरे खेतीका लागि गाउँपालिकाले २० लाख रुपियाँ बिनियोजन गरेको थियो । यसमध्ये १० लाख रुपियाँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिका मार्फत एक्यापले रकम उपलब्ध गराएको थियो ।

अकबरे खेतीका लागि गाउँपालिकाले विरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको थियो । किसानलाई खेतीसम्बन्धी आवश्यक तालिम र प्राविधिक सहयोग गरिएको कृषि विकास शाखाका कृषि अधिकृत अर्जुन घलेले बताउनुभयो । 

अकबरे खुसार्नी खेतीका लागि पालिकाले बजेट विनियोजन गरेपछि किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले अभियान चलाएपछि वडा ७ का किसान गोपाल गुरुङ एक्लैले १० रोपनीमा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको छ । अन्य किसानहरुले कम्तिमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् । 

किसानहरुले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको ब्यवस्थासँगै जनता एग्रो कम्पनीसँग विक्री सम्झौता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिनुभयो । 

अकबरेसँगै गाउँपालिकामा फलफूल खेती विस्तार गर्न एभोकाडो, टिमुर, सुन्तला, दाँते ओखर, किवी लगायतका फलफूलको वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।