• २० जेठ २०८२, मङ्गलबार

कछुवाको अवस्था सुधारोन्मुख

blog

कर्णाली नदीमा देखिएको कछुवा । तस्बिर सौजन्य : भोजराज ढुङ्गाना

अविनाश चौधरी
धनगढी, जेठ १३ गते ।
खाद्य चक्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पानीको कुचीकार कछुवाको अवस्था नेपालमा सुधारोन्मुख देखिएको छ ।

मान्छेमा आएको चेतना र कानुनी दण्ड सजायको डरका कारण विगतको तुलनामा कछुवाको अवस्था सुधारोन्मुख भएको हो । अहिले पहिलेको जस्तो कछुवा पक्रने, मार्ने, खाने, बिक्री गर्ने जस्ता कार्य नहुने गरेको जनाइएको छ । कछुवालाई हानी नोक्सानी पुर्‍याउनु कानुनी रुपमा दण्डनीय अपराध मानिन्छ । 

समुदायमा चेतना बढेपछि कछुवा मारेर खाने कार्य विगतको तुलनामा कम भएको कैलालीका संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । “पहिले कछुवा मार्ने, खाने कार्य बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त्यस्तो छैन । मान्छे सचेत भएका छन् । पहिलेको जस्तो मारेर खाँदैनन् ।”

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कछुवाका लागि धनी मानिन्छ । कैलाली, कञ्चनपुरमा रहेका नदी, तालतलैया, वनजङ्गलमा कछुवा प्रशस्त छन् । विश्व रामसारमा सूचीकृत घोडाघोडी तालमा करिब २५/३० केजीका ठुल्लठुला कछुवा छन् ।

गिद्धलाई प्रकृतिको कुचीकार भनिए जस्तै कछुवालाई पानीको कुचीकार पनि भन्ने गरिन्छ । पानीमा बस्ने कछुवाले कुहिएका, सडेगलेका माछा, जीवजनावरलाई खाएर जलीय वातावारणलाई  शुद्ध राख्ने कार्य गर्दछन् । यसैगरी, कछुवाले विभिन्न जीव जनावरलाई खाने र कतिपय जीव जनावरले कछुवालाई खाने गरेका कारण खाद्य चक्रमा कछुवाको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

नेपालमा १७ प्रजातिका कछुवा पाइने गरेका छन् । जसमध्ये पाँच प्रजाति खपटा नरम भएको र बाँकी १२ प्रजाति खपटा साढो भएको रहेका जनाइएको छ । नेपालमा कछुवाहरु तराईमा सबैभन्दा बढी पाइने गरे पनि ठोटरी प्रजातिको कछुवा उचाइको हिसाबले चुरिया शिवालिकसम्म पाइने गरेको कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार ठोटरी प्रजातिको कछुवा पानी नभइ सालको जङ्गलमा बस्ने घाँस, फलफूल खाने गर्दछन् । बाँकी अरु प्रजातिका कछुवा मुख्यगरी पानीमा बस्ने गरेको शाहको भनाइ छ । बाघ, गैँडाको जस्तो विस्तृत अध्ययन नभए पनि पछिल्लो समय नेपालमा कछुवाको अलि–अलि अध्ययन भइरहेको प्राध्यापक शाहले उल्लेख गर्नुभयो । “अनुदान पाएपछि विद्यार्थीले अलि–अलि अध्ययन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

नेपालमा अन्धविश्वासका कारण पनि कछुवा मार्ने काम हुने गरेको बताइन्छ । औषधीको रुपमा प्रयोग गर्न, खपटालाई घरमा राख्न, गाईको घाँटीमा झुण्ड्याउनका लागि कतिपयले कछुवा मार्ने गरेका जनाइएको छ । कछुवाको खपटा घरमा राखेमा चट्याङ पर्दैन भन्ने अन्धविश्वास रहेको छ ।

खान र औषधीका लागि भनेर विगतमा कछुवा मार्ने काम बढ्दो भए पनि अब अवस्था त्यस्तो नरहेको प्राध्याक शाहको भनाइ छ । उहाँले थप्नुभयो, “कछुवा मार्नु हुन्न । जोगाउनु पर्छ भन्ने चेतना मान्छेमा आएको छ । बदमासी पूर्ण रुपमा रोक्न सकिदैन । तर पहिलेको जस्तो मार्ने, बजारमा खुलेयाम कछुवाको बिक्री हुने जस्ता कार्य रोकिएका छन् ।”

मान्छेलाई कछुवाको महत्त्व र भूमिका अझै बुझाउन जरुरी रहेको शाहको जोड छ । उहाँले पाठ्यक्रममा नै राखेर यसको महत्त्व सबैलाई बुझाउनु पर्ने उल्लेख गर्नुभयो ।