• ३० जेठ २०८२, शुक्रबार

‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वय न्यून’

blog

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आएको भए पनि गरिएका सिफारिस कार्यान्वयन न्यून रहेको बताउनुभयो । उहाँले क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष मगरले कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको जिकिर गर्नुभयो । अध्यक्ष मगरले चालु आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकारको उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएको र सो अवधिमा एक सय ६४ वटा उजुरीहरू फछ्र्यौट गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जना भएका दायित्वहरू सरकारबाट कार्यान्वयन हुन सके मात्र मानवअधिकारको उपयोगितामा सहजता आउने धारणा राख्नुभयो ।

“नेपाल सरकारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जना भएका दायित्वहरू कार्यान्वयन हुन सके मात्र मानवअधिकारको उपयोगितामा सहजता आउँछ । आर्थिक वर्ष २०८१ ०८२ को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानवअधिकारको उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन् भने एक सय ६४ वटा उजुरीहरू फछ्र्यौट गरिएको छ ।,’’ अध्यक्ष मगरले भन्नुभयो, ‘‘आयोगले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सिफारिस गर्दै आएको छ । तर आयोगले गरेका सिफारिस कार्यान्वयन न्यून रहेको छ । क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन भएका छैनन् । यसरी कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको छ ।” 

उहाँले मुलुकले दायित्वहरू पूरा गरे नगरेको विषयमा निगरानी गर्ने तथा दायित्व बहन गराउनका लागि उत्तरदायी बनाउने जिम्मेवारी आयोगसँग रहेको स्पष्ट पार्नुभयो ।