• ३० जेठ २०८२, शुक्रबार

भार्सेलीहरुले बनाए साढे दुई करोडको बौद्ध स्तुपा

blog

सत्यवति गाउँपालिका –८ भार्सेमा स्थानीयले निर्माण गरेको बौद्ध स्तुपा । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, जेठ १३ गते । भार्से गाउँ प्रकृतिको अनुपम उपहार हो । गाडीमा रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डबाट करिव एक घण्टा उकालो चढेपछि भार्से पुगिन्छ । भार्से चारैतिरबाट पहाडले घेरिएको रमणीय उपत्यका हो । 

भार्से यहाँकै सबैभन्दा बढी मगर बसोबास गर्ने गाउँ हो । जसलाई नमुना गाउँको रुपमा चिनिन्छ । अहिले गाउँमा मान्छेको संख्या पातलो बन्दै गएको छ । सत्यवति गाउँपालिका ««–८ भार्सेमा पनि अत्यधिक बसाइँसराइ छ । स्थानीयले गाउँको सामाजिक विकासमा गरेको सहयोग र योगदान उदाहरणीय छ । त्योमध्ये भर्खरै निर्माण भएको बौद्ध स्तुपा हो । 

गाउँमा जन्मिएर स्वदेश तथा प्रदेशमा रहेको भार्सेलीहरुले पर्यटन प्रवर्धनमा टेवा पुराउने उद्देश्यले साढे दुई करोडको लागतमा बौद्ध स्तुपा निर्माण गरेका छन् । भार्से स्वयम्भु देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीका अनुसार करिव साढे आठसय व्यक्तिले बौद्ध स्तुपा निर्माणको अभियानमा सहयोग गरेका छन् । 

उहाँले बौद्ध स्तुपा निर्माणको परिकल्पनाकार समेत रहनु भएका लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकी एक्लैले एक करोड १५ लाख बढी सहयोग गरेको बताउनुभयो । कुलबहादुर बुढाथोकीले भार्से र आसपासका दर्जन बढी शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रहरुमा सहयोग गर्नुभएको छ । 

समाजसेवी बुढाथोकी अहिले हङकङमा बस्दै आउनु भएको छ । स्थानीयले भावनात्मक रुपमा दुईसय रुपियाँ समेत प्रदान गरेका छन् । स्थानीय सरकार र पर्यटन कार्यालय भैरहवाबाट बिभिन्न समयमा गरेर २५ लाख रुपियाँका कामहरु भार्से देउरालीमा भएको बुढाथोकीले बताउनुभयो । 

उहाँले अहिले पर्यटकको आकर्षण र भार्सेको प्रसंशा पाउँदा बौद्ध स्तुपा र पर्यटकीय संरचना निर्माणका बेला पाएको दुःख बिर्सेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षातमा सडक राम्रो नभएर डोजरले ट्याक्टर धकेलेर सामान देउराली पुराउँथ्यौ । चिसोमा कठ्याङग्रिएर पनि कामबाट बिचलित बनेनौ ।”

स्तुपा निर्माणका लागि भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँहरुका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । भार्सेबाट काठमाडौंमा बसोबास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तुपा र फन पार्कको डिजाइन गरेका छन् । बौद्ध स्तुपासँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फन पार्क निर्माण गरिएको छ । 

भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका मनमोहक हिमश्रृङ्खला र गुल्मीसहित पर्वत, बाग्लुङ्ग, म्याग्दी, पाल्पा र स्याङजाका महत्वपूर्ण दृश्यावलोक गर्न सकिन्छ । जसका कारण स्तुपा र फन पार्कले आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

स्वयम्भु देउराली बौद्ध स्तुपा निर्माण समितिका कोषाध्यक्ष सुजन गलामीका अनुसार पार्कमा अहिले टिकटक, लभ र चन्द्रमा बनाइएको छ । साथै नजिकै वनभोजस्थल भएकाले बिदाको समयमा गुल्मीसहित बाग्लुङ्ग, पर्वत, स्याङ्गजा, अर्घाखाँची लगायतका स्थानबाट पर्यटक र लुम्बिनी तथा श्रीलङ्गकाबाट भण्टेहरु बौद्ध स्तुपाका आएको गलामीले बताउनुभयो । 

उहाँले दिनमा ३१ वटा गाडीसम्म भार्से देउरालीमा आएको दावी गर्नुभयो । स्तुपा समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा निर्माण भएको छ । प्राकृतिक तथा कला संस्कृतिले भरिपूर्ण भार्सेमा थपिएका धार्मिक एवं पर्यटकीय संरचनाले स्थानीय मात्र खुसी छैनन् । स्वास्थ्य शिविरको सन्दर्भमा भार्से देउराली पुग्नु भएका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्याङक्रयाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले प्रभावित हुँदै ५५ हजार रुपियाँ र युवराज दिशामगरले २५ हजार प्रदान गर्नुभयो । 

उहाँले भन्नुभयो, “भार्से आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बन्नेमा दुईमत छैन । सामाजिक विकासका कार्यमा भार्सेली नागरिकको सोँच र प्रवासीहरुको आर्थिक सहयोग उदाहरणीय छ ।”