• ३१ जेठ २०८२, शनिबार

रुरुक्षेत्रमा भजन प्रतियोगिता : ग्वादी भजन समूह प्रथम

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ १३ गते ।
गुल्मीको रुरुक्षेत्रमा पालिकास्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि आयोजना गरिएको लोक भजन प्रतियोयागितामा ग्वादी भजन समूह प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

भजन प्रतियोगितामा पालिका भित्रका भजन कीर्तनमा क्रियाशिल भजन समूह, समिति, धाम तथा मन्दिर सञ्चालक समितिहरु र अन्य सामाजिक संस्थाहरु गरी दस समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा रुरुक्षेत्र भजन समूह च्युरेक द्वितीय, चौतारा भजन समूह तृतीय र श्रृङ्गेश्वर भजन कृतन सत्संग समूह सान्त्वना भएको उहाँले बताउनुभयो ।

प्रशासकीय अधिकृत पाण्डेका अनुसार प्रतियोगितामा प्रथम भएको ग्वादी भजन समूहले नगद २० हजार, द्वितीय भएको रुरुक्षेत्र भजन समूह च्युरेकले नगद १५ हजार, तृतीय भएको चौतारा भजन समूहले नगद दस हजार र सान्त्वना भएको श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहले नगद पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहकै शान्ता अधिकारी उत्कृष्ट नृत्यमा पुरस्कृत हुनुभएको छ । उहाँलाई नगद दुई हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । कला संस्कृतिलाई संरक्षण गर्दै रुरुक्षेत्र गाउँपालिकाको पहिचान स्थापित गर्न भजन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।