• १ असार २०८२, आइतबार

रोजगार कार्यक्रममार्फत अन्नपूर्णमा ८२ जनालाई रोजगारी

blog

रोजगार कार्यक्रम मार्फत निर्माण गरिएको पदमार्ग । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १२ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रममार्फत सडक मर्मत, गोरेटो बाटो र पदमार्ग निर्माण तथा मर्मतका लागि सञ्चालित ११ वटा योजनामा ८२ जनाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा गाउँपालिकालाई ७७ लाख ३७ हजार रुपियाँ बजेट प्राप्त भएको थियो । पालिकाका ८ वटै वडामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुईहजार चार सय ६४ मिटर गोरेटो बाटो र पदमार्ग निर्माण गरिने गाउँपालिकाको रोजगार शाखा संयोजक समित्रा गैरे पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रम मार्फत सञ्चालित योजनाबाट पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयवासीहरुलाई आवतजावत गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । रोजगार कार्यक्रममा न्यूनतम ३९ दिनदेखि एकसय दिनसम्म रोजगारी पाउने उहाँले बताउनुभयो ।

रोजगार कार्यक्रममार्फत वडा नम्बर १ दोबामा तारिगा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार योजना, वडा नम्बर २ भुरुङमा किम्लाखर्क गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार, वडा नम्बर ३ दानामा भिमसेन मन्दिरबाट दुवारी जाने मोटरबाटो र गोरेटो बाटो मर्मत, वडा नम्बर ४ नारच्याङमा कालद्धार गोरु चरण गोरेटो बाटो निर्माण योजना र किम्लाचौर माटे ओराल गोरेटो बाटो मर्मत तथा निर्माण योजना सञ्चालन गरिएको छ ।

यसैगरी, वडा नम्बर ५ शिखमा पाउद्धारदेखि भलखारा गोरेटोबाटो निर्माण योजना, वडा नम्बर ६ घारमा भुन्यादेखि देउरालीसम्म गोरेटो बाटो निर्माण तथा मर्मत योजना, वडा नम्बर ७ हिस्तानमा घराम्दी गोरेटो बाटो निर्माण तथा मर्मत योजना, वडा नम्बर ८ राम्चेमा महभिर करवाकेली गोरेटो बाटो निर्माण र दोविल्ला खोला ढुङ्गेसाँघु मर्मत तथा गोरेटो बाटो निर्माण गर्ने योजना सञ्चालन गरिएको रोजगार शाखा संयोजक पौडेलले जानकारी दिनुभयो । 

वडा नम्बर ४, ६ र ८ मा सञ्चालित ३ वटा योजनाहरु सम्पन्न भएका र अन्य योजनाहरु निर्माणको अन्तिमचरणमा पुगेको रोजगार शाखा संयोजक पौडेलले बताउनुभयो । कार्यक्रम सञ्चालन भएका वस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने, सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिने छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् ।