• २० जेठ २०८२, मङ्गलबार

विरबास स्वास्थ्यचौकी : सम्झौता भएको चार वर्षपछि पूरा हुँदै

blog

गुल्मीदरवार गाउँपालिका–४ को विरबास स्वास्थ्यचौकी अनुगमन गर्दै गाउँपालिकाको टोली । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ १२ गते ।
गुल्मीको विरबार स्वास्थ्यचौकी चार वर्षमा निर्माण हुने भएको छ । गुल्मीदरवार गाउँपालिका–४ को विरबास स्वास्थ्यचौकी २०७८ पुस ११ गते निर्माण सम्झौता भएको थियो । केन्द्रको विशेष अनुदान एक करोड ३८ लाख ७५ हजार १५८ रुपियाँमा श्रेष्ठ ट्रेड सप्लार्य–श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ । सम्झौता अनुसार निर्माण व्यावसायीले २०७९ पुस ३० मा काम सक्नुपथ्र्यो । तर सम्झौताकै वर्ष निर्माण व्यावसायीले काम नगरेका कारण एक करोड फिर्ता भयो । त्यो पैसा पुनः नआएपछि निर्माण व्यावसायीले काम छोडे ।

गुल्मीदरवार गाउँपालिकाले रकम निकासाका थुप्रै प्रयत्न गरेपनि उपाय नलागेपछि करिव दुई वर्ष स्वास्थ्यचौकीको भवन अलपत्र बनेको थियो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट ७० लाख बजेट विनियोजन गरेर निर्माण व्यावसायीलाई दिएपछि काम अगाडि बढेको गुल्मीदरवार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार निर्माण व्यावसायीलाई अझै ३० लाख भुक्तानी गर्नुपर्नेछ । उहाँले भन्नुभयो, “पहिलो वर्ष निर्माण व्यावसायीले काम नगर्दिएर फिर्ता भएको पैसा फर्किएर आएन । अत्यन्तै आवश्यक भवन लामो समय अलपत्र परेपछि पालिकाबाट बजेट विनियोजन गरेर काम अगाडि बढेको छ ।”

केही समयमै योजना हस्तान्तरणको योजना रहेको छ । अहिले फिजिसिङ्गसहित रङ्गरोगनको काम भइरहेको छ । बजेट अभावकै कारण रोकिएको काम पालिकाले सहजीकरण गरेपछि अगाडि बढाइएकाले केहि दिनमै उद्घाटनको तयारी रहेको निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक हरि कुमार श्रेष्ठले बताउनुभयो । निर्माण व्यावसायीले विरबास स्वास्थ्यचौकीको मात्रै नभएर गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको पनि संघबाट रकम नआएपछि ७० लाख रकम निर्माण व्यावसायीलाई भुक्तानी गरेर सञ्चालनमा ल्याएको छ । समयमै काम गरेका निर्माण व्यावसायीको समेत भुक्तानी दिन केन्द्रले रकम नपाएपछि बाध्य भएर पालिकाले केही रकम भुक्तानी गरेको योजना अधिकृत पन्थीले बताउनुभयो । अहिले विरबास स्वास्थ्यचौकी पुराना हेल्थपोष्टको भवनमा छ । पुरानो र साँघुरो भवनबाट सेवा प्रबाहमा असहज भएको स्वास्थ्यचौकी इन्चार्ज विवेक चुँदालीले बताउनुभयो ।

भुक्तानी माग्दै दर्दनाक पत्र
गुल्मी जिल्लामा कैयन विकास योजना निर्माण व्यावसायीले काम नगरेर अलपत्र छन् । तर, समयमै काम गर्ने निर्माण व्यावसायीलाई सरकारले पुरस्कार र उर्जाको सट्टा मानसिक र आर्थिक दण्ड दिइरहेको पाइएको छ । त्यसको उदाहरण रेसुंगा नगरपालिका–९ का निर्माण व्यावसायी विजय खनाल हो । निर्माण व्यावसायी खनालले आर्थिक वर्ष ०७७/०७८ मा बिकेओआइ–अर्जुन–न्यू लिजा जे.भीमार्फत गुल्मी दरवारमा १५ शय्या अस्पताल निर्माणको काम गर्नुभयो । 

सवैभन्दा छिटो अस्पताल बनेर गुल्मीदरवारको सवैतिर चर्चा भयो । तर निर्माण व्यावसायी खनालले पैसा पाउनुभएन् । अहिले तीन महिनादेखि पालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । निर्माण व्यावसायीले आफुले पाउनुपर्ने रकम ७४ साल ४६ हजार ९५ रुपियाँ पालिकाले नदिएपछि दर्दनाक पत्र पठाउनु भएको छ । पालिकाले अस्पतालबाट सेवा दिन थालेपनि सम्झौता अनुसारको बाँकी पैसा नदिएका कारण आर्थिक अवस्था निकै बिग्रेको, मानसिक तथा नैतिक समस्यासंगै रोगहरु समेत लागेको निर्माण व्यावसायी विजय खनालले पत्रमा लेख्नु भएको छ ।