• १५ जेठ २०८२, बिहिबार

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

blog

तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ १२ गते । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षासहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो ।

“नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो ।’’ उहाँले भन्नुभयो, “गणतन्त्र र उपलब्धिकाविरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।’’ जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिने छ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदानसहित समापन गरिनेछ । जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तर्वार्ता तथा सामग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।