टोपलाल अर्याल
रेसुङ्गा, जेठ १२ गते । चन्द्रकोट गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गर्न नेपाल पर्यटन बोर्डसहित गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको टोली चन्द्रकोट गाउँपालिका–४ को टिमुरे सामुदायिक होमस्टेमा पुगेको छ ।
टोलीलाई पालिकाभित्रका पर्यटकीय गन्तव्यहरूको परिचय, सम्भावना, खोजी र दिगोपना विषयमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी गराउनु भएको थियो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका अध्यक्ष शकुन्तला देवकोटासहितको टोलीले चन्द्रकोटका पर्यटकीय क्षेत्रहरुको अध्ययन तथा अवलोकन गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो ।
चन्द्रकोट गाउँपालिकामा ऐतिहासिक चन्द्रकोट, टिमुरे ताल, टिमुरे होमस्टे लगायतका पर्यटकीय क्षेत्र रहेका छन् । कार्यक्रममा होमस्टेका परिकारहरुको स्वागत तथा स्थानीय संस्कृतिहरु प्रर्दशन गरिएको थियो ।
चन्द्रकोटमा ऐतिहासिक चन्द्रकोट दरवार, टिमुरे ताल, रेमी होमस्टे लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय संरचना रहेका छन् । शान्तिपुर बजारबाट गाडीमा करिव २० मिनेट उकालो चढेपछि पुगिने रेमीमा रानामगर, पुन, श्रीस र नेवार लगायतका करिव डेढ सय जनजाति समुदाय बस्दै आएका छन् । धेरै गाउँहरु बसाइसराइँले खाली हुँदै गएका बेला रेमीमा प्रभाव खासै छैन् । जसका कारण गाउँपालिकाले टिमुरे सामुदायिक होमस्टे मार्फत स्थानीयको आर्थिक रुपान्तरणको अभियान थालेको छ ।
टिमुरे तालको पहिचान स्थापित गर्न, गाउँका उत्पादन र कला संस्कृतिको संरक्षण गर्न रेमी गाउँमा टिमुरे सामुदायीक होमस्टे संचालन गरिएको छ । पहाडको टुप्पोमा पर्यटकीय क्षेत्र टिमुरे र नजिकै शान्तिपुर बजार भएकाले पर्यटकको रोजाइँमा होमस्टे पर्ने भएकाले महिलाहरु कस्सिएका छन् । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण होमस्टेको भविष्य राम्रो छ । त्यसका लागि समुदायकै सकरात्मक भावना आवश्यक रहेको होमस्टे संचालक गौकुमारी पुनले बताउनुभयो ।
स्थानीय परिकार निर्माण, स्वागत सत्कारसंगै व्यावस्थापकीय पक्षमा तालिम पाएका दिदिबहिनीहरु होमस्टेका संचालनको लागि उत्साहित भएको पुनले बताउनुभयो । गाउँको बसाइसराई कम गर्न होमस्टे संचालनको योजना चन्द्रकोट गाउँपालिकाको रहेको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत रेमी सामुदायिक होमस्टेमा तालिम संचालन गरिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । होमस्टेमा पूर्वाधार र सामग्री पहिलेनै सहयोग भएकाले नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानसंग समन्वय गरेर तालिम प्रदान गरिएको पौडेलले बताउनुभयो ।