अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १२ गते । जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाशप्रसाद पण्डित वैदेशीक भ्रमणमा निस्केपछि जिल्ला अदालत म्याग्दीको न्याय सम्पादन प्रभावित भएको हो ।
जिल्ला अदालत म्याग्दीमा एक जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश पण्डित वैशाख १० गतेदेखि बिदामा हुनुहुन्छ । उहाँको बिदा असार १५ गतेसम्मका लागि स्वीकृत भएको र विदेश भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका छन् ।
न्यायाधीश नहुँदा स्रेस्तेदारले थुनछेक आदेश गरेका मुद्दाहरू न्यायाधीशले पुनर्विचार गर्नुपर्ने हुन्छ । न्यायाधीशले पुनर्विचार गरे मात्र पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छुट्ने पुनरावेदन गर्ने लगायत अन्य प्रक्रियामा जान पाउने हुन्छ ।
न्यायाधीश नहुँदा यस्ता थुप्रै मुद्दाहरू रोकिएका म्याग्दी जिल्ला अदालत बार एसोसिएसन उपाध्यक्ष डण्डपाणी पराजुलीले बताउनुभयो । फैसला प्रक्रिया अगाडि बढेर पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा रोकिएर थप थुनामा बस्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
न्यायाधीश नहुँदा मुद्दा पक्षले हप्ताका हप्ता तारिख लगाउने मात्र काम भएको छ भने अन्य प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । वर्षातको सुरुआत भइसकेको अवस्थामा म्याग्दी भौगोलिक रूपमा दुर्गम बाटोघाटो बन्द हुने समस्या पनि सिर्जना हुन सक्छन् ।
हप्ताको हप्ता तारिख लगाउन आउँदा मुद्दा पक्षलाई झन् समस्या सिर्जना भएको छ । ‘‘वैशाख १० देखि सुरु भएका बिदा अनि विदेश भ्रमणमा रहेका न्यायाधीश आउन अझै एक महिनाभन्दा बढी समय लाग्छ, तर आउने नआउने टुङ्गै हुँदैन ।’’ वारका उपाध्यक्ष पराजुलीले बताउनुभयो । विभिन्न शीर्षक मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ ।
जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०८०/०८१ कुल १३० वटा जिम्मेवारी सरेको नयाँ दर्ता चार सय ६१ गरी जम्मा पाँच सय ९३ मुद्दा लगत रहेकोमा चार सय ८३ फछ्र्यौट भएर एक सय १० वटा मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको थियो । त्यसैगरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको एक सय १० र नयाँ दर्ता तीन सय ७७ गरी कुल चार सय ८७ चालु आर्थिक वर्षको हालसम्मको लगत रहेको छ । हालसम्म कुल तीन सय ४९ मुद्दा फछ्र्यौट भएर एक सय ३८ मद्दा बाँकी रहेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले कास्कीका न्यायाधीश कृष्णजंग साहलार्ई एक महिनाका लागि म्याग्दीमा काज खटाएको भेनर आज पत्र प्राप्त भएको भए पनि न्यायाधश भने आइन नसकेको जिल्ला अदालतले जनाएको छ ।