• १७ जेठ २०८२, शनिबार

बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ

blog

पर्वतको बाच्छा गाउँमा बिउ काँक्राे टिप्दै कृषक ।

प्रनिश गिरी

कुश्मा, पर्वत जेष्ठ १२ गते । पर्वतको दक्षिणी भेगमा पर्ने बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ छ । जिल्लाको फलेवास नगरपालिकाको वडा १० र ११ साथै विहादी गाउँपालिकाको वडा १ मा पर्ने बाच्छाका कृषकहरुलाई यतिखेर बिउ काँक्राे टिप्ने चटारो छ ।

बाच्छा गाउँबाट गत वर्ष काक्राको बिउ बिक्री गरी कृषकहरुले १ करोड बढी रकम भित्र्याएका थिए भने यस वर्ष पनि मौसमले राम्रो साथ दिएको हुँदा सोही मूल्य बढीको उत्पादन गरिने अड्कल यहाँका स्थानीय कृषकहरुको छ । बाच्छामा मात्रै कृषकहरुले २ सय रोपनी क्षेत्रफलमा बिउ काँक्राेको खेती गरेका छन् । 

गत फागुनको पहिलो हप्ता लगाएको काक्रा जेष्ठको दोस्रो हप्तातिर करीव तीन महिनामा बिउ तयार हुन्छ । बिउ काँक्राे विक्रीका लागि बजारको समेत कुनै चिन्ता कृषकलाई छैन । बिउ खरीदका लागि क्रेताहरु कृषकको सम्पर्कमा आइसकेका छन् ।

वाच्छामा बिउ काँक्राेको व्यावसायिक उत्पादनमा लागेको सृजनशील कृषक समूहले मात्रै १ सय रोपनीमा काक्रा लगाएको छ । कृषक समूहका अध्यक्ष शिव कुमार क्षेत्रीका अनुसार २८ जना कृषकहरु समूहमा आवद्ध छन् । बारीमा बिउ काँक्राे टिप्दै गरेका कृषक क्षेत्रीले भन्नुभयो, "गत वर्प प्रति केजी १३ हजारका दरले विक्री गरिएको थियो । अहिले पनि काठमाडौं, पोखरा, बुटवल लगायतका स्थानबाट विउ खरीदको माग भैराखेको छ । मूल्य तोकिसकेको छैन तर पोहोरको मूल्य बराबर भयो भने १३ लाख रुपैया बिँउ बिक्रीबाट आम्दानी हुन्छ ।"

कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काक्राको खेती गरी कम्तिमा पनि १ सय केजी भन्दा बढी काक्राको बिउ उत्पादन हुने बताउनुभयो । बाच्छा विहादी वडा १ का कृषक ऋषिराम भुषालले १५ रोपनी क्षेत्रफलमा विउ काक्रा खेती गर्नुभएको छ । कृषक भुपालले प्रति रोपनीमा १० केजी काक्राको विउ उत्पादन हुने दाबी गर्नुभयो । बिउ काँक्राेको व्यावसायी उत्पादनबाट उत्साही ४४ वर्षे कृषक भूषालले भन्नुभयो, "काक्राको बिँउ उत्पादन राम्रो देखिएको छ । प्रति रोपनी १० केजी काक्राको बिँउ उत्पादन गरी कम्तिमा पनि १० लाख रुपियाँ कमाइ गर्ने लक्ष्य छ ।"

कृषक भुषालले कृषि उत्पादनमा व्यावसायिक ढंगले निरन्तर लागेमा परिश्रमको फल राम्रै गरी पाउन सकिन्छ भन्ने लागेको बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले काक्राको विउ खेती गरिएको जग्गाको क्षेत्रफल २ सय रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तिमा पनि ७ करोड रकम बराबरको बिउ काँक्राेको उत्पादन हुन सक्ने अनुमान गर्नुभएको छ । 

कृषि ज्ञानकेन्द्र पर्वतले कृषकहरुलाई तालीम दिनुका साथै विउ खरीदमा ५० प्रतिशत अनुदान दिएको छ भने मलविषादी र कृषि सामग्री खरीदमा समेत ५० प्रतिशत सम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताउनुभयो ।  

जिल्लाको जलजला गाउँपालिकास्थित खोलाखेत वडा ४ र धाईरिङ वडा ७ साथै फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, कर्नास लगायतका स्थानहरुमा विउ काक्राको व्यावसायिक उत्पादन हुँदै आएको छ ।