• १२ जेठ २०८२, सोमबार

जीर्ण भवनले अपाङ्गता भएका विद्यार्थीलाई समस्या

blog

तनहुँ, जेठ १२ गते । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ । 

वर्षायाम सुरु भएको र टिनमा ठूला–ठूला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले हावाहुरीले छानो उडाइदिन्छ, उडाएको छानो ल्याएर पुनः छाउने काम पनि ग¥र्यौ, जस्तापाताको प्वालले पानी चुहिने समस्या छ ।”

गत वर्षको हावाहुरीले भवनको जस्तापाता उठाएको थियो । उडाएको जस्तापाता खोजेर ल्याएर पुनः छाउने काम गरिएको उहाँको भनाइ छ । विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । धादिङ घर भएका दीपक गुरुङ परिवारसहित पोखरा पुगेका थिए । ज्याला मजदुरी गर्ने उनको परिवार काममा जाँदा बौद्धिक अपाङ्गता उनी बेवारिसे अवस्थामा पोखरा बजारमा भेटिएका थिए । हाल उनी विद्यालयको अपाङ्गता स्रोतकेन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका छन् । 

तनहुँका रिमबहादुर नेपाली सानै छँदा बौद्धिक अपाङ्गता भएको थाहा पाएपछि बाबुआमाले छाडिदिएका थिए । हजुरआमाले लालनपालन गरेका उनलाई पछि यहीँ स्रोतकेन्द्रमा ल्याएर भर्ना गरिएको थियो । स्रोतकेन्द्रका कर्मचारी साधन श्रेष्ठका अनुसार यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । 

विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको बताउनुभयो ।